रोहित चन्द भन्नुहुन्छ : साफ जिते नेपाली फुटबलमा परिवर्तन आउँछ ।


काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दै फाइनल यात्रा तय गर्यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मिडफिल्डर रोहित चन्द म्यान अफ द म्याच बने । राष्ट्रिय टोलीका लागि सन् २००९ देखि खेल्दै आएका रोहितले अलमुताइरीको प्रशिक्षणमा कहिले डिफेन्स त कहिले मिडफिल्डमा खेल्दै आएका छन् ।

डिफेन्डरका रुपमा करिअर सुरु गरेका उनी पछिल्लो समय भने मिडफिल्डरका रुपमा नै छाप बसाइरहेका छन् । तर डिफेन्समा पनि उनको प्रदर्शन प्रभावशाली नै छ । बुधबार बंगलादेशविरुद्ध मिडफिल्डमा खेलेका उनले म्यान अफ द म्याच नै जिते ।
रोहितले खेलमा केहि गोल गर्ने अवसर पनि पाएका थिए ।

तर त्यसको सदुपयोग गर्न सकेनन् । नेपालका लागि आक्रमण बनाउने मात्र नभएर रक्षात्मक रुपमा पनि उनी सक्रिय देखिए । विगतभन्दा केहि आक्रामक भूमिका पाएकाले पनि रोहित खेलभर चलायमान देखिए ।

खेलपछि बोल्दै रोहितले फाइनल पुग्न सकेकोमा खुसी व्यक्त गरे । ‘खेल निकै कठिन थियो । बंगलादेश पनि राम्रो टोली हो । दुवै टोलीले जितकै लागि खेलेका थिए, तर हामीलाई १ अंकले फाइनल पुग्न पर्याप्त रहयो,’ उनले भने, ‘हामी फाइनल पुग्दा एकदम खुसी छौं । मलाई लाग्छ यो इतिहासकै पहिलो फाइनल हो । हामी एकदम खुसी छौं र यो क्षणमा रमाइरहेका छौं ।’

रोहितको यो व्यक्तिगत छैटौं साफ हो । सन् २००९ यता लगातार खेल्दै आएका रोहितले तीन पटक सेमिफाइनलको हारको पिडा खेप्नुपरेको छ । सन् २०१३ मा अफगानिस्तानविरुद्ध अन्तिम समयमा रोहित पेनाल्टीमा चुक्दा नेपाल १-० ले पराजित भएको थियो ।

तर त्यसयता रोहितले आफ्नो खेललाई निकै माथि ल्याएका छन् । इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आएका उनले क्लब स्तरमा सफलता पनि हासिल गरेका छन् । राष्ट्रिय टोलीबाट भने आधिकारिक उपाधि जित्न उनलाई अवसर छ ।

रोहितले फाइनल जितेमा नेपाली फुटबलमा परिवर्तन आउने आशा देखाए । ‘हामी अहिलेसम्म फाइनल पुग्न सकेको थिएनौं । हाम्रो लागि सबैभन्दा ठूलो प्रतियोगिता नै यहि हो । म मात्र होइन सबै खेलाडीको उद्देश्य नै साफ च्याम्पियनसिप जित्नु रहेको छ ।

फाइनल पुगेको छौं । फाइनल जित्यौं भने हाम्रो फुटबलमा केही परिवर्तन आउँछ भन्ने आशा छ । संघ र सरकारले योजनावद्ध ढंगले अघि बढ्न सहयोग पुग्छ भन्ने छ,’ उनले भने । -हाम्रो खेलकुद

तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज