फेसबुकका थुप्रै गोप्य सूचना लीक गर्ने पूर्व कर्मचारीको परिचय सार्वजनिक


फेसबुकका थुप्रै गोप्य सूचना लीक गर्ने पूर्व कर्मचारीको परिचय सार्वजनिक

फेसबुकका थप्रै गोप्य सूचना सार्वजनिक गर्ने पूर्व कर्मचारीले आफ्नो परिचय सार्वजनिक गरेकी छिन्।

यसरी श्रृङ्खलाबद्ध रुपमा गोप्य सूचना सार्वजनिक गर्ने उनी ३७ वर्षीया फ्रान्सेस होजेन रहेको र उनले फेसबुकको भिभिड इन्फर्मेशन टिममा प्रडक्ट म्यानेजरको हैसियतले काम गरेको सीबीएसलाई आइतबार दिएको अन्तरवार्ताका क्रममा प्रस्ट पारिन्।

आफूले सार्वजनिक गरेका दस्तावेजहरुमा सुरक्षाभन्दा पनि व्यापार वृद्धिलाई प्राथमिकता दिइएको उनले बताइन्।

फेसबुकले भने ती दस्तावेजहरु भ्रामक भएको र कम्पनीले गरेको सकारात्मक अनुसन्धानलाई ओझेलमा पार्नमा लागि अगाडि सारिएको आरोप पनि लगाएको छ।

सीबीएसको ६० मिनट्स नामक कार्यक्रमलाई दिएको अन्तरवार्तामा होजेनले यसै वर्षको शुरुवातमा आजित भएर फेसबुक छोडेको बताइन्।

फेसबुकबाट बाहिरिनुअघि उनले कम्पनीका आन्तरिक दस्तावेजहरुको श्रृङ्खला नै कपी गरिन्। पछि उक्त दस्तावेज उनले वालस्ट्रीट जर्नललाई दिइन् जसले केही हप्तायता श्रृङ्खलाबद्ध रुपमा ती गोप्य दस्तावेजहरु प्रकाशन गर्दै आइरहेको छ। यसलाई जर्नलले फेसबुक फाइल्स भन्ने नाम दिएको थियो।

अन्तरवार्ताका क्रममा उनले फेसबुकले कलाकार, सेलिब्रिटी तथा राजनीतिज्ञहरुलाई छुट्टै हिसाबले व्यवहार गर्ने पनि जनाइन्।

लीक भएको दस्तावेजले यस्ता एकाउन्टमा थुप्रै नीति नियम लागू नै नहुने वा कम लागू हुने गरेको खुलेको छ। यस्ता एकाउन्टलाई सिस्टमले एक्सचेक वा क्रस चेकका नाममा राख्ने गरेको बुझिएको छ।

यस्तै अन्य लीक भएको विवरण अनुसार फेसबुकले आफ्नै शेयरधनीहरुको समूहबाट जटिल किसिमको मुद्दा खेपिरहेको बुझिएको छ। उक्त समूहले फेसबुकले क्याम्ब्रिज एनालिटिका डाटा स्क्यान्डलको उजुरी मिलान गर्न अमेरिकाको संघीय व्यापार नियोग एफटीसीलाई ५ अर्ब डलर बुझाउनुपर्ने भएको आरोप लगाएको छ।

TK Viber

प्रकाशित: १८ आश्विन २०७८, सोमबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज