इन्धनको भाउ आकाशिएसँगै विश्वका ठूला अर्थतन्त्र तनावमा – Thulo Khabar


१७, असोज, काठमाडौं‌ । कोरोना महामारीबाट थलाथला परेको विश्व अर्थतन्त्रसामु नयाँ संकट देखिन थालेको छ । महामारीको असरबाट तंग्रिने प्रयास गरिरहेका मुलुकसामु अघिल्लो हप्ता एउटा नयाँ संकट देखा पर्‍यो । विश्व बजारमा कच्चा तेल र प्राकृतिक ग्यासको मूल्य आकाशिन थालेपछि यस्तो संकट देखा परेको हो ।

अघिल्लो हप्ता कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८० डलर पुगेको थियो । पछिल्लो समय युरोपमा इन्धनको मूल्य १० प्रतिशतले बढेको छ । हिउँद नजिँकिदै गर्दा ग्यासको मूल्य ह्वात्तै बढेपछि युरोपेली उपभोक्ताहरु चिन्तित हुन थालेका छन् ।

एसियाका प्रमुख अर्थतन्त्र चीन र भारतमा समेत इन्धनको मूल्य बढिरहेको छ । भारतले देशभित्र खपत हुने कुल इन्धनमध्ये ८० प्रतिशत बाहिरबाट आयात गर्छ । तर इन्धन खपत हुने महत्वपूर्ण बजारमा केही समयदेखि पेट्रोल र डिजेलको मूल्य आकाशिन पुगेको छ । भारतीय बजारमा शुक्रबार पेट्रोल र डिजेलको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । आर्थिक राजधानी मानिने मुम्बईमा पेट्रोलको मूल्य बढेर प्रतिलिटर झण्डै १०८ भारु पुगेको थियो भने डिजेलको मूल्य प्रतिलिटर ९७.८४ पुगेको थियो ।

चीन सरकारले कार्बन उत्सर्जन नियन्त्रणका लागि हालै चालेको कदमले समेत विश्व इन्धन बजारमा असर पार्न थालेको छ । चीन विश्वमा सबैभन्दा धेरै इन्धन खपत हुने मुलुक हो । तर आगामी वर्ष हुन गइरहेको हिउँदे ओलम्पिकपूर्व वायु प्रदूषण कम गर्न भन्दै चीनका कैयौं ‘पावर प्लान्ट’ बन्द गरिएको छ । चीनमा ऊर्जा कटौती र इन्धनको कोटा निर्धारण हुँदा मानिसहरुले दशकपछिकै खराब इन्धन अभावको सामना गरिरहेका छन् । उद्योग बन्द गरिएको छ भने ट्राफिक लाइट र थ्रीजी नेटवर्क काटिएको छ । झण्डै २० शहर आकाशिँदो मूल्य, उच्च माग र कोइलाको अभावबाट प्रभावित बनेका छन् ।

यसबाहेक टाट पल्टिन लागेको चिनियाँ घरजग्गा कम्पनी एभरग्रान्डेसामु देखिएको संकटपछि चीनले तेल आयात घटाउन सक्ने र यसबाट विश्व तेल बजारमा उथलपुथल आउने चिन्ता व्यक्त भइरहेको छ ।

पेट्रोलियम निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक)ले समेत आगामी केही वर्ष तेलको माग निकै बढ्ने बताइसकेको छ । कोभिड महामारीको असरबाट अर्थतन्त्र तंग्रिँदै जाँदा तेलको माग बढ्ने ओपेकको भनाइ छ ।

यसैबीच बैंक अफ अमेरिकाले तेलको मूल्य अझै बढ्न सक्ने जनाएको छ । बैंकले केही महिनाभित्रै तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर पुग्ने अनुमान गरेको हो । ग्यासको मूल्य बढिरहेको अवस्था र नजिकिँदै गरेको हिउँदका कारण अर्को आर्थिक संकट देखिन सक्ने समेत बैंकको भनाइ छ ।

विज्ञहरुले समेत इन्धनको मूल्य थप बढ्न सक्ने र उच्च मुद्रास्फीतिको दबाबले अर्को विश्वव्यापी आर्थिक संकट निम्तिन सक्ने चेतावनी दिएको ब्लूमबर्गले जनाएको छ । ग्यासको मूल्य बढेसँगै मानिसहरु तेलतिर लाग्ने भएकाले विश्व बजारमा यसको माग ह्वात्तै बढ्ने पनि उनीहरुको भनाइ छ ।

यस पटकको हिउँद थप चिसो हुने अपेक्षाबीच इन्धनको माग बढ्ने र फलस्वरुप मूल्य वृद्धि हुने अनुमान समेत गरिएको छ । साथै, अन्तर्राष्ट्रिय हवाई उडान पुन: सुचारु हुन थालेपछि हवाई इन्धनको माग बढ्ने पनि प्रक्षेपण गरिएको छ ।

‘यदि सबै तत्वहरु एकसाथ मिसिन पुगे भने तेलको मूल्य ह्वात्तै बढ्ने छ र विश्वभर मूल्यस्फीतिको दबाबको दोस्रो चरण शुरु हुनेछ,’ विज्ञहरुलाई उदृत गर्दै समाचारमा उल्लेख छ, ‘यसलाई अर्को शब्दमा भन्दा हामीहरुमाझ एउटा ठूलो आँधीबेहरी केही समयमै आउनेछ ।’

एजेन्सीको सहयोगमा   

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज