नागरिक एपमा विद्युतीय भुक्तानी सेवा प्रदायकहरुलाई जोड्ने तयारी


नागरिक एपमा विद्युतीय भुक्तानी सेवा प्रदायकहरुलाई जोड्ने तयारी

सरकारले नागरिक एपमा विद्युतीय भुक्तानी प्रणालीलाई जोड्ने भएको छ। नागरिक एपबाटै विभिन्न किसिमका सरकारी सेवाहरुको शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन सकिने गरि व्यवस्था गर्नका लागि सेवा प्रदायकहरुलाई आबद्ध गराउन लागेको हो।

नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिकाअनुसार २०७८ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्युतीय भुक्तानी सेवाप्रदायक एवं भुक्तानी सेवा सञ्चालन प्रणाली जोड्ने भएको हो। जसमा अनुमति प्राप्त सेवा प्रदायकहरु आबद्ध हुनसक्नेछन् ।

निर्देशिकाले  सो एपमा बैंक तथा वित्तीय संस्थाहरुका साथै भुक्तानी सेवा प्रदायकहरुलाई समेत जोड्न सकिने बाटो खुला गरिदिएको थियो ।

मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले बिहीबार एक सूचना जारी गर्दै एक साताभित्र विद्युतीय भुक्तानी सेवा प्रदायक एवं भुक्तानी सेवा सञ्चालकलाई एपमा आवद्ध हुनका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

‘नागरिक एपमार्फत सेवा शुल्क, दस्तुर, जरिवाना वा अन्य कुनै रकम तिर्न वा बुझाउन विद्युतीय भुक्तानी सेवा आवश्यक भएकोले नेपाल सरकारद्वारा जारी नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८० को दफा ४ को उपदफा ४ मा व्यवस्था भएबमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त इच्छुक विद्युतीय भुक्तानी सेवाप्रदायक एवं भुक्तानी सेवा सञ्चालक संस्थाहरुलाई एपमा आवद्ध हुन यो सूचना जारी भएको मितिले ७ दिनभित्र केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

निर्देशिकाले एपको व्यवस्थापन र प्राविधिक कार्य हेर्ने जिम्मा सञ्चार मन्त्रालयलाई दिएको छ।

एपमा सरकारी सेवाहरुलाई एकै स्थानमा उपलब्ध गराउने दिर्घकालिन लक्ष्य लिईएको छ।

TK Viber

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज