चितवनमा झन् कमजोर बन्दै नेकपा एस : जिल्लाको नेतृत्व गर्ने भनेका नेताहरु नै एमालेमा


– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ २६ –
नेकपा एमाले फुटेर नयाँ बनेको पार्टी नेकपा एकिकृत समाजवादी (एस) को चितवन कमिटीमा बस्न नेताहरुको अभाव भएको छ ।

एमाले हुँदा माधव नेपाल पक्षमा रहेका नेताहरु नेकपा एसमा नजाँदा पाधिकारीका जिम्मेवारी सम्महालेर बस्ने नेताहरुकै अभाव भएको हो ।

यसको पुष्टि हिजो शुक्रबार भरतपुरमा भएको नेकपा एसको चितवन कमिटी र भरतपुर महानगर कमिटी गठनका क्रममा भएको छ ।

चितवन कमिटी र भरतपुर कमिटीको पदाधिकारीमा राखिएको दुई नेताले आफूहरु नेकपा एसमा नरहेको भन्दाभन्दै पनि आफूखुसी नाम राखिएको भनेर असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले नेकपा एसमा आफूहरु नरहेको स्पष्टिकरण दिँदै पार्टी विभाजनको पक्षमा कहिल्यै नरहेको बताएका छन् ।

नेकपा एसले चितवन शुक्रबार जिल्ला कमिटीमा सहसचिव दिव्या शर्मा र भरतपुर महानगर कमिटीमा सहसचिव शोभा पण्डित रहेको जनाएको थियो । त्यससम्बन्धी समाचार नारायणी अनलाइने पनि प्रकाशन गरेको थियो । सञ्चारमाध्यमा समाचार आए लगत्तै यी दुबै नेताले आफूहरु नेकपा एमालेमै रहेको बताएका छन् । उनीहरुले आफूहरुको सहमितबिनै पदाधिकारीमा नाम राखेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

यसअघि दुबै जना माधव नेपाल पक्षले एमालेमा हुँदा बनाएको समानान्तर कमिटीमा सोही पदको जिम्मेवारीमा थिए ।

पार्टी एकतामा दबाब दिन समानान्तर कमिटीमा बसेको भए पनि आफू विभाजनको पक्षमा नरहेको शर्माले बताइन् । उनी ०७४ सालमा भएको स्थानीय तहको चुनावमा भरतपुर महानगरको उपमेयरमा उम्मेद्वारी दिएकी थिइन् । ३९ हजार ५ सय २५ मत ल्याएकी उनी कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ पार्वती शाहसँग ७ हजार ६ सय ७२ मतले पराजित भएकी थिइन् ।

यस्तै पण्डितले पनि आफू पार्टी विभाजनको पक्षमा नरहेकाले नेकपा एमालेमै रहने बताएकी छिन् ।

समानान्तर कमिटीको अध्यक्ष रहेका तजेन्द्र खड्का पनि नेकपा एसमा जान अस्वीकार गरेका छन् । उनले अन्तिम अवस्थामा आएर नेकपा एसमा नजाने निर्णय गरेका हुन् । नेकपा एसले खड्काकै अध्यक्षतामा चितवन कमिटी गठन गर्ने तयारी गरेको थियो । तर खड्का हिजोको कार्यक्रममा अुनपस्थित भएपछि उनको सट्टा डा कृष्ण राज पन्तलाई अध्यक्ष बनाइएको थियो । खड्का हिजो दिनभर मोबाइल स्विच अफ गरेर बसेका थिए ।

यस्तै माधव नेपाल पक्षमा रहेका एमाले चितवनका युवा नेता प्रकाश ढुंगाना र विद्यार्थी नेता रोहित सुवेदीले पनि एकिकृत समाजवादीमा नजाने घोषणा गरेका छन् । एकिकृत समाजवादी जिल्ला कमिटी सचिव खालि राखिएको छ ।

यस्तै माधव पक्षको माडी नगर कमिटीको समानान्तर कमिटीको सचिवमा रहेका महादत्त काफ्लेले पनि आफू एमालेमै रहने बताएका छन् ।

जिल्ला सदस्यमा नाम राखिएका मध्ये केहीले आफ्नो सहमति नभएको जनाउन थालेका छन् ।

नेकपा एस : चितवनमा डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय कमिटी गठन

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज