इपीएलः चितवन टाइगर्सको पहिलो खेल विराटनगर वारियर्ससंग


चितवन, भदौ २४–

नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) २०२१ को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजकले बुधबार खेलतालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्स र काठमाडौँ किंग्स ११ बीच प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रतियोगितामा चितवन टाइगर्सले दोस्रो दिनमै आफ्नो पहिलो खेल खेल्दै छ । असोज १० गते विहान ९ः३० बजे चितवनले विराटनगर वारियर्ससंग भिड्दै प्रतियोगिता सुरुवात गर्नेछ । अर्को दिन असोज ११ गते दिउँसो १ः३० बजे आफ्नो दोस्रो खेलमा चितवनले भैरहवा ग्लाडियटर्सको सामना गर्नेछ ।

त्यसपश्चात चितवनले दुई दिन विश्राम पाएको छ । असोज १४ गते दिउँसो १ः३० बजे चितवनको भिडन्त काठमाडौँ किंग्स ११ संग हुने आयोजकले जनाएको छ । असोज १५ गते चितवनले पोखरा राइनोज र १७ गते साविक विजेता ललितपुर प्याट्रियट्ससंग प्रतिस्पर्धा गर्नेछ । चितवनको लिग चरणको खेल यतिकैमा सकिने छ । लिग चरणको खेल सकिदा अंक तालिकामा चौथो स्थानसम्म कायम रहन सके चितवन प्ले अफ खेल्न पाउने छ । अंक तालिकामा पाचौं वा अन्तिम स्थान रहे प्रतियोगिताबाट बाहिरिने छ ।

विजेता हुने उद्देश्य सहित टिम तयार पारेको चितवनले यसपटक विदेशी प्रशिक्षक समेत भित्र्याएको छ । चितवनको प्रमुख प्रशिक्षक नेपालकै सामसन जंग थापा छन् भने टिम व्यवस्थापक तथा सहायक प्रशिक्षकका रुपमा भारतीय प्रशिक्षक पुरु सिंह आवद्ध भएका छन् ।

यस्तै टिम मेन्टर र सहायक प्रशिक्षकमा पुरनेन्दु घोष, टिम डाक्टरमा डा.प्रकाश पौडेल र फिजियोथेरापिस्टमा डा.सौगात श्रेष्ठ चितवन टाइगर्समा आवद्ध छन् ।

चितवन टाइगर्सको टोलीः

सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिप नाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिल खान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया)

चितवनको खेल तालिकाः

 

इपीएलकै खेल तालिकाः

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज