पियाजियोले स्वापेबल ब्याट्री प्रयोगका लागि होन्डालगायतका कम्पनीसँग सहकार्य गर्ने


पियाजियोले स्वापेबल ब्याट्री प्रयोगका लागि होन्डालगायतका कम्पनीसँग सहकार्य गर्ने

इटलीको स्कूटर निर्माता पियाजियोले होन्डा मोटर कम्पनी, केटीएम एजी, तथा यामाहा मोटर कम्पनीसँग विद्युतीय दुई पाङ्ग्रे सवारीमा स्वापेबल ब्याट्री प्रयोगका लागि सहकार्य गर्ने भएको छ।

स्वापेबल ब्याट्री मोटरसाइकल कन्सोर्टियम एसबीएमसी नाम दिइएको उक्त साझेदारीले स्कूटर, मोपेड तथा मोटरसाइकलजस्ता हलुका विद्युतीय सवारी प्रयोगलाई अझ फराकिलो बनाउने तथा तिनीहरुमा प्रयोग भएका ब्याट्रीहरुको दिगो व्यवस्थापनका लागि सहयोग पुग्ने संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो सहकार्यले ब्याट्री लाइफ, रिचार्ज हुने समय, पूर्वाधार तथा लागतमा केन्द्रित भएर स्वापेबल ब्याट्रीको अन्तरराष्ट्रिय मानक प्राविधिक स्पेसिफिकेशन निर्धारण गर्ने बताइएको छ।

यो सहकार्यमा रहेका कम्पनीहरुले मानकहरु बढाउनका लागि जतिसक्दो धेरै कम्पनीलाई स्वागत गरेको बताएका छन्।

‘शहरी क्षेत्रको मोबिलिटी बिस्तारै विद्युतीयतिर ढल्किँदैछ। यो सहकार्यका कारण मोटरसाइकलहरुले आफ्ना प्रमुख भूमिका निर्वाह गर्नेछन्,’ पियाजियोको रणनीति तथा उत्पादन प्रमुख मिचेल कोलानिन्नोले बताए।

यस्तै होन्डाको मोटरसाइकल अपरेशन्स चिफ योशिशिगे नोमुराले उक्त सहकार्यको उद्देश्य उपभोक्ताका लागि विद्युतीय मोटरसाइकल अझ सहज बनाउने रहेको बताए।

TK Viber

प्रकाशित: २२ भाद्र २०७८, मंगलवार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज