मैले अस्ति हेरेको बुवाको मुख – Thulo Khabar


३२ वर्ष पहिलेको कुरा हो । म कक्षा ६ मा पढ्दा २०४६ सालतिर माघको महीना बेलुकी शायद राम्रो खाना सम्बन्धी जिद्दी गरी रुँदै थिएँ । त्यसैबेला घर बाहिरबाट ‘ए शेरजङ्ग’ भन्दै बाघको जस्तो डराउँदो आवाज आयो । त्यो आवाज बुवाको थियो । म घर भित्रबाट ‘हजुर’ भन्न नपाउँदै बुवा भान्सा कोठाभित्र पसी रिसले मलाई २/३ झापड हान्नुभयो  ।

अनि म डराएर अर्को कोठाको खाटको तल बुवा पुग्न नसक्ने ठाउँमा गएर लुकें । बुवा गर्जिनुभयो- मलाई पञ्चायती व्यवस्थाका प्रहरीहरूले गोली हान्ने भनी खोज्दैछन् । कुन बेला गोली खान्छु थाहा छैन । आज दुई महीना पछि घर आउँदा एक छिन शान्तिले बसौंभन्दा घरको यो हालत ।’ उहाँ बेस्करी रिसाउनुभयो । आमाले बोल्न सक्ने अवस्था पनि रहेन ।

एकछिन बुवाले गाली गरिरहनुभयो । रिस अलि शान्त भएपछि मलाई बोलाउनुभयो । म डराई-डराई बुवा कहाँ गएँ । बुवाले गाला मुसार्नुभयो । सुम्सुम्याउनुभयो । अनि ‘किन गर्छौं यस्तो’ भनी माया र अलि दुःखित मुद्रामा कुरा गर्नुभयो । मलाई आफ्नै काखमा राख्नुभयो र भन्नुभयो- आज सँगै खाना खाऊँ ।

आमालाई खाना लगाउन भन्नुभयो । मैले डराई-डराई खाना खाएँ । अनि हात मुख धुँदा गाली खाइन्छ कि भनी डराएर राम्ररी हात मुख धोएर सुत्न गएँ ।

मैले खाना खाँदादेखि सुत्दासम्म बुवाको मुख डरले राम्ररी हेर्न सकिनँ । अर्को दिन बिहान म ब्युँझिंदासम्म बुवा घर छोडेर गइसक्नुभएको रहेछ । बुवा घर छोडेर गएको खबरले म कति खुशी भएको थिएँ भन्ने कुरा मलाई नै थाहा थियो ।

सबैका छोराछोरीले यस्तो राम्रो काम गरून् कि बुवाको मुख सजिलै हेर्न सकौं । म जस्तो जुनसुकै बेला पनि गल्ती गरिरहने छोरा जसरी डराई-डराई बुवाको मुख हेर्न कसैलाई नपरोस्

कसैले बुवा आएको भनी प्रहरीलाई खबर गरेको भन्ने सुइँको पाएर बुवा एकाबिहानै निस्कनुभएको रहेछ । म बिउँझेको एकछिनमै प्रहरी आएर बुवालाई घर गोठमा खोजिराखेका थिए । दिदीदाइहरूलाई पञ्चायती व्यवस्था विरुद्ध लागे गोली हान्छौं भन्दै धम्काइरहेका थिए ।

त्यतिखेर बुवाको यस्तो डरलाग्दो मुख मलाई कहिल्यै देख्न नपाए हुन्थ्यो जस्तो लाग्थ्यो । बुवा नदेख्दा म धेरै खुशी हुन्थें । किनकि बुवाले हामीहरूलाई नियम कानूनमा राख्न खोज्नुहुन्थ्यो । हामी बस्न सक्दैनथ्यौं ।

बुवा घर नभएको दिन हामीलाई रमाइलो हुन्थ्यो । बुवा घर आउनुभएको दिन घर नै जेलमा रुपान्तरण भएजस्तो लाग्थ्यो ।

केही दिन पहिले जनैपूर्णिमा मनाउन म मेरा साथीहरूसँग काठमाडौंबाट घर गएँ । बुवासँग कुरा गरौं भनी बुवाको कोठामा गएँ बुवा सुतिरहनुभएको थियो । मैले ५/६ पटक बोलाउँदा मात्र बुवा बिउँझनुभयो । विस्तारै उठ्नुभयो । केहीबेर हामीले बुवासँग कुरा गर्‍यौं ।

समयको अभावले बुवासँग बढी लामो कुरा गर्न नसके पनि २० मिनेट जति मैले एक्लै कुरा गरें। बुवाको बाघको जस्तो अनुहार हेरिरहें । तर बुवामा अब बाघको जस्तो केही रौनक नै पाइनँ । बुवाको जस्तो हिम्मती, डराउँदो, अथक् मुख मैले धेरै कमजोर भएको देख्दा तथा एकदमै थकित मुद्रामा बुवालाई देख्दा म समयचक्रसँग मनमनै बुवाको त्यही अनुहार माग्न थालें ।

मलाई बुवाको हालको मुख हेर्न मन लागेन । बरु म हेर्न नसकुँला, डराउँला तर बुवाको त्यही अनुहार र त्यही गर्जन सुन्न पाए हुन्थ्यो जस्तो लाग्यो । जीवनमा अलिकति पनि गल्ती गर्दा झापड दिने बुवाको त्यही मुख हेर्ने मन लाग्यो ।

आज पनि घर जाँदा कतै केही गल्ती गरेको त छैन भनी जमीनको सीमा शुरु हुँदा आफैंलाई नियाल्ने गर्छु । त्यो बुवाको अनुहारले गर्दा हो बुवाको मुखले गर्दा हो । गल्ती गर्दा बुवाको मुख आज पनि हेर्न नसक्ने मलाई बुवाको त्यही अनुहार चाहियो । त्यही मुख हेर्ने इच्छा दिनभरि रहिरह्यो ।

मलाई बुवाको अस्ति हेरेको मुख भन्दा ३५/४० वर्ष पहिलेको मुख नै हेर्ने मन लागिरह्यो । तर पछि मैले विचार गरें । मैले जहिल्यै पनि गल्ती गरिराख्थें । बुवाको मुख हेर्न डराइरहनुपर्थ्यो ।

यदि मैले गल्ती नगर्ने थिएँ भने मलाई कहिल्यै पनि बुवादेखि डर लाग्ने थिएन र जुनसुकै बेला पनि म बुवाको मुख हेर्न सक्थें । बुवाको मुख हेर्न कुनै आइतबार नै कुर्नुपर्ने वा वर्ष कुर्नुपर्ने हुन्थेन ।

अस्ति टिकटकमा एक गज्जबको भिडिओ देखें । त्यसमा संसारको सबैभन्दा अप्ठ्यारो काम भनेको बुवालाई अँगालो हाल्नु भनिएको थियो ।

मैले पनि विचार गरें र एकचोटि बुझेर हेर्दा त्यही रहेछ जस्तो लाग्यो । चाहेर पनि मैले बुवालाई अँगालो हाल्न सकिनँ त्यतिबेला । जबकि मैले बुवाको हात समातें । बुवाको हात आफ्नो टाउकोमा राखें । तर अँगालो चाहिं हाल्न कोशिश गर्दागर्दै पनि सकिनँ ।

भनिन्छ- साहित्य समाजको ऐना हो । जसरी यो मेरो घरको मात्र घटना नभई शायद अधिकांश परिवारको यथार्थता हो । आज समाज अलि फरक हुँदै जाँदा बुवा छोराछोरीको सम्बन्ध अलि प्रगाढ र मायालु बन्दै गएको छ तर आजभन्दा चार/पाँच दशक पहिले यस्तो समाज थिएन ।

बुवा भनेको परिवारलाई बाटो देखाउने एक कडा स्वभावको पारिवारिक सदस्य भन्ने बुझाइ थियो । न बुवाको मुख हेर्ने दिन नै कसैलाई थाहा थियो होला । अरुलाई थाहा भए पनि मलाई चाहिं धेरैपछि थाहा भयो- बुवाको मुख हेर्ने दिन पनि हुन्छ भन्ने ।

आज बुवाको मुख हेर्ने दिनमा सबैलाई एक शुभकामना सहित सन्देश दिन चाहन्छु कि सबैको छोराछोरीले यस्तो राम्रो काम गरून् कि बुवाको मुख सजिलै हर्न सकौं । म जस्तो जुनसुकै बेला पनि गल्ती गरिरहने छोरा जसरी डराई-डराई बुवाको मुख हेर्न कसैलाई नपरोस् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज