चितवनमा पशुपंक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल बनाउने तयारी


– ध्रुवराज खनाल

चितवन, भदौ १२ – 
पशुपालनको अग्रणी जिल्लाको रुपमा चिनिएको चितवनमा पशुपंक्षीको अस्पताल बनाउने तयारी थालिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ ।

अहिले चितवनको विज्ञ केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र छ । जसले गर्दा नयाँ प्रकृतिका रोग देखिएमा रोग पत्ता लगाउन धेरै समय लाग्ने गरेको छ ।

रोगको पहिचान र पशुपंक्षीको उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्न लागिएको पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डाक्टर दयाराम चापागांईले जानकारी दिए ।

पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । वार्षिक २ करोड रुपैयाँ विनियोजन गर्ने गरी कुल १० करोडमा अस्पताल निर्माण गरिने डाक्टर चापागांईले बताए ।

गत वर्ष चितवनमा गाईमा देखिएको लम्पी स्क्रिन डिडिजका कारण कतिपय गाईको मृत्यु भयो भने दुध उत्पादनमा समेत गिरावट आएको थियो । सोही रोग पहिचानका लागि चितवनबाट काठमाडौं नमुना पठाइएकोमा दुई सातापछि मात्र रिपोर्ट प्राप्त भएको थियो । सो अवधिमा धेरै क्षति भइसकेको थियो ।

‘चितवन पशुपालनमा अब्बल मानिन्छ तर गतिलो प्रयोगशाला र अस्पताल छैन’ डाक्टर चापागांईले भने, ‘जिल्लाको आवश्यकतालाई मध्यनजर गर्दै अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको छ । प्रस्तावमा छलफल भएर मन्त्रालयले स्वीकृती प्रदान गरेपछि निर्माण प्रक्रिया सुरु हुन्छ ।’

अहिले सिमित जनशक्तिले काम गर्नुपर्ने बाध्यता रहेको चापागांईले बताए । जनशक्ति प्रर्याप्त नभएसम्म प्रयोगशाला विस्तार गर्नुको औचित्य नहुने भन्दै डाक्टर चापागांईले दरबन्दी थपेर मात्र प्रयोगशाला संचालन गर्नुपर्ने बताए । चितवनमा वार्षिक १ लाख १० हजार ६३१ मेक्ट्रिक टन दुध उत्पादन हुँदैआएको छ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज