वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर – Thulo Khabar


६ भदौ, काठमाडौं । मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी (जेबी टुहुरे)को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।

मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा. सामर्थ सिंहले बताए । टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनले बताए ।

टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अस्पताल पुगेर उनको स्वास्थ्य स्थिति बुझेका थिए । उनलेे टुहुरेको उपचारको सम्पूर्ण खर्च व्यहोर्न सरकारलाई आग्रह गर्ने बताएका थिए ।

अस्पतालमा टुहुरेलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत पुगेका छन् ।

टुहुरेको उपचारमा अहिले डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनबहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छ ।

२० को दशकदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेले १ सय ५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका छन् । ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ बोलको गीत उनको बहुचर्चित गीत हो ।

सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकीकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज