चितवनको धान खेतीमा रोगको प्रकोप, प्राविधिकको सिफारिस बिना मनपरी विषादी प्रयोग


चितवन, भदौं ५-

राप्ती नगरपालिका–६ पडरियाका दिपकराज त्रिपाठीले १५ कठ्ठामा धान रोपेका छन् । १५ दिनदेखि धानको पदको फेदमा डढुवा देखिएको छ । यस अवधिमा उनले प्राविधिकको सल्लाह बिनै हेक्जाकोनाजोल प्रयोग गरे । तर, अहिलेसम्म धानमा लागेको रोग निको हुन सकेको छैन ।

‘धानमा रोग देखिएको छ । यहाँ कृषि प्राविधिक हुनुहुँदैन । पहिले नै छर्ने हेक्जाकोनाजोलले हुन्छ कि भनेर दुई पटकसम्म छरे । तर, रोग निको भएको छैन’, उनले भने, ‘गत वर्ष पनि धानमा रोग लाग्यो उत्पादन हुन सकेन । अहिले उस्तै छ ।’ उनले कृषि प्राविधिकको आवश्यक रहेको समेत बताए ।

पडरियाकै कमला तामाङ पनि धानमा रोग देखिएर चिन्तित छन् । धानमा रोग देखिएपछि नजिकैको एग्रोभेटमा विषादी लिएर प्रयोग गरे पनि रोग झन् भन्दा झन् फैलिएको छ । एक बिघा भाडामा लिएर रोपेकी छु । २० हजार रोप्न खर्च भयो । मल र बिषादी गरेर ५० देखि ६० हजार रुपैयाँ खर्च भइसेको छ, हातमा रहेको धान हेर्दै उनले भनिन्, ‘विषादी छरे पनि निको हुँदैन धान रोपेर दुःखमात्र होला जस्तो छ ।’

पूर्वीचितवनका किसानले यसरी नै प्राविधिकको सिफारिस बिनै धानमा विषादी प्रयोग गर्ने गरेका छन् । राप्ती नगरपालिका एकका सानुबाबु कँडेलको धानमा शिथ ब्लाइट रोग देखिएको छ । तर, उनले गवारो रोगको विषादी प्रयोग गरिरहेका छन् । ‘एग्रोभेटमा गएको गवारो रोग भनेर विषादी दियो । सात कठ्ठा जग्गामा बिषादी छरेँ’, भरतपुरबाट गएको प्राविधिकको टोलीसँग उनले भने ।

अहिले पूर्वीचितवनको धानमा शिथ ब्लाइट, धन मरुवा, फेद कुहिने रोग, फड्के जस्ता देखिएको छ । तर, किसानले धानमा देखिएको रोगको पहिचान नगरी किसानले विषादी प्रयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र चितवनकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले जानकारी दिइन् । ‘कतिपय किसानले सिफारिस बिना नै विषादी प्रयोग गर्नुभएको छ । कति ठाउँमा किसानले बिषादी छर्ने विधि नजान्दा पनि समस्या देखिएको छ’, क्षेत्रीले भनिन्, ‘विषादी हाल्ने प्रक्रियामा पनि भर पर्छ । किसानले धानको फेदमा डढुवा देखिए पनि फेदसम्म नपुग्ने गरी विषादी छर्नुभएको छ । त्यसले विषादी छर्नुको कुनै अर्थ राख्दैन ।’

शिथ ब्लाइट रोग कस्तो रोग हो ?

शिथ ब्लाइटरोग (धानको पातको फेद डढुवा) ढुसीजन्य रोग हो । धानको पातको फेदमा माटो वा पानीको सतह भन्दा थोरै माथि र पातमा अण्डाकार पानीले भिजेका हरियो खैरा थोप्लाहरु देखिन्छन् । रोग बढ्दै जाँदा ढुसीको कालो गिर्खाहरु पर्ने क्षेत्रीले बताइन् । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो हुन्छ ।

यस रोगको व्यवस्थापन कसरी गर्ने

नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी नगरी उन्नत जातको धान रोप्दा बोटदेखि दुई तर्फ २५ सेन्टिमिटरसम्म दूरी बढाउने गर्नुपर्छ । रोग प्रभावित खेतमा पानी जमेको भए पानी पठाउने र नाइट्रोजन मल टप ड्रेस गर्न नहुने उनले बताइन् । ढुसीनाशक विषादी भेलिडामाइसिन तीन प्रतिशत तीन ग्राम प्रतिलिटर पानीमा वा पेन साइक्यूरोन २२ दशमलब नौ प्रतिशत एससिमा एक दशमलब पाँच मिलिलिटर प्रतिलिटर पानीमा वा कार्बेन्डाजिम ५० प्रतिशत डब्लुपी एक दशमलब ग्राम प्रतिलिटर पानीमा मिसाइ १०देखि १२ दिनको फरकमा दुई पटक गर्न उनले सुझाव दिइन् ।

प्रोपिकोनाजोल २५ प्रतिशत इसिमा एक मिलिलिटर प्रति चार लिटरमा पानीमा मिसाइ १० देखि १२ दिनको फरकमा दुई पटक छर्ने र थाइफोनेट मिथाइल दुई ग्राम प्रतिलिटर पानीमा मिसाइ १०देखि १२ दिनको फरकमा दुई पटक छर्नेुपर्ने हुन्छ ।

धान मरुवा रोग लागेमा

धान मरुवा रोग नियन्त्रणका लागि कार्बेन्डाजिम ५० प्रतिशत डब्लु दुई देखि तीन ग्राम प्रतिकिलो बीउका दरले बीउ उपचार गरी ब्याड राखी सिफारिस अनुसार नाइट्रोजन मल प्रयोग गर्ने गर्नुपर्छ । रोगको व्यवस्थापन गर्न ढुसीनाशक बिषादी ट्राइसाइकालोज ७५ प्रतिशत डब्लुपी ० दशमलब ७५ ग्राम प्रतिलिटर पानी वा कासुगामाइसिन तीन प्रतिशत एसएल १ दशमलब मिलिलिटर पानी वा हेक्जाकोनाजोल दुई मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर १० देखि १५ दिनको फरकमा दुई देखि तीन पटक छर्न बाली संरक्षण अधिकृत क्षेत्रीले सुझाव दिईन ।

धानको गवारो रोगलाई कसरी समाधान गर्ने

धानको गवारो लाग्दा बिरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गावा देखिन्छन् । जुन तान्दा सजिलै निस्कन्छन् । विरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भूस मात्र भएको सेता बाला देखिने उनको भनाइ छ ।

गवारोको क्षति कम गर्न हरेक वर्ष धान काटी सकेपछि ठुटा डुब्ने गरी खेतमा पानी कटाइ जोतिदिनुपर्छ । गवारो प्रकोप धेरै भएको खेतमा कारटाप हाइड्रोक्लोराइड चार प्रतिशत जीआर वा फिप्रोनिल शून्य दशमलव तीन जीआर वा क्लोरान ट्रानीलीप्रोल ० दशमलब चार प्रतिशत जिआर दाना विषादी ५०० ग्राम प्रति कठ्ठाका दरले खेतमा छिपछिपे पानी जमाएर गर्नुपर्छ ।

खैतमै पुगेर किसानलाई तालिम

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवन र कृषि ज्ञान केन्द्र चितवनले पूर्वीचितवनका किसानका खेतमा पुगेर धानबालीमा देखिएका समस्या समाधान गर्ने प्रयास गरेको छ । पूर्वी चितवनका रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा धानमा रोग देखिन थालेपछि भरतपुरबाट गएको कृषि प्राविधिकको टोलीले खेतमै पुगेर किसानलाई धानमा लागेको रोगको पहिचान र विषादीको प्रयोगसम्बन्धी तालिम प्रदान गरेको हो ।

स्थलगत तालिमको क्रममा किसानका धानमा शिथ ब्लाइट (धानको फेद डढुवा), धानको मरुवा रोग, फेद कुहिने रोग र फड्के रोग देखिएको परियोजनाका कृषि अधिकृत माधव पौडेलले जानकारी दिए । धानमा यस्ता रोग देखिए पनि किसानहरुले कृषि प्राविधिकको सिफारिस बिना नै विषादी प्रयोग गर्ने गरेको उनको भनाइ छ । जसका कारण धानमा देखिएको रोगको समस्या समाधान गर्न कठिन समेत हुने उनको भनाइ छ । उनले किसानलाई प्राविधिकको सल्लाहमा मात्र धानमा विषादी प्रयोग गर्न अनुरोध गरे । सो क्रममा किसानहरुले कृषि प्राविधिकको आवश्यक रहेको बताएका छन् । कार्यक्रममा कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, परियोजनाका प्रमुख विनोदकुमार भट्टराई, कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना, माधव पौडेल, बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीलगायतको उपस्थित रहेको थियो ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज