अविश्वास प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेकी हुँ । –  


काठमाडौँ : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । उनी वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बुधबार नियुक्त भएकी हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबारै एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । शाक्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट निर्देशन आएसँगै पौडेल राजी भएका थिए ।

पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको थियो । हाल वाग्मतीमा नेकपा एमालेको एकल बहुमत छ । सभामुखसहित ५६ सांसद रहेकामा पार्टी विभाजनअघिसम्म ओली समूहमा ३४ सांसद र माधव नेपाल समूहमा २२ जना सांसद थिए ।

तत्कालीन समयमा नेकपाभित्र विवाद हुँदा पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउँदै दाहाल–नेपाल समूहले शाक्यलाई नै मुख्यमन्त्रीका रूपमा अगाडि सारेको थियो । ‘पार्टी विभाजन हुनु हुँदैन र एमाले एकढिक्का छ

भनेर सन्देश दिन मुख्यमन्त्रीको पद सम्हालेको हुँ,’ शाक्यले भनिन्, ‘पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसँग छलफल गरेरै यो विषय टुंग्याइएको हो ।’ आफ्नाविरु’द्ध अविश्वासको प्रस्ताव नआउने गरी मुख्यमन्त्री बनेको उनले बताइन् । आफूलाई माओवादी र कांग्रेसको पनि समर्थन रहने उनको दाबी छ ।

शाक्य २०१० सालमा काठमाडौं–२३ स्थित झोंछेमा जन्मिएकी हुन् । अष्ट’मीका दिन जन्मिएकाले उनको नाम अष्टलक्ष्मी राखिएको थियो । एसएलसी दिएपछिको खाली समयमा अध्ययनका लागि भनेर उनी चिनियाँ पुस्तकालय जान्थिन् । त्यही बेलादेखि राजनीतिप्रति उनको चासो बढेको हो ।

२०२६ सालबाट उनले राजनीति सुरु गरेकी हुन् । चिनियाँ साहित्य अध्ययन गर्दा कम्यु’निस्ट पार्टीले सबैलाई बराबरी गर्छ भन्ने विषयले राजनीतिप्रति आफूलाई आकर्षित गरेको उनको भनाइ छ । चिनियाँ क्रान्ति र कम्युनिस्ट सिद्धान्तबारे बुझ्न थालेकी उनलाई वामपन्थी विचारका गुरु डा। महेशमान श्रेष्ठले माओत्सेतुङका विचार बुझाएका थिए ।

एसएलसीपछि क्याम्पस भर्ना भइन् । उनी र सुलोचना मानन्धरसहितको टोलीले सांस्कृतिक कार्यक्रम आयोजना गर्थ्यो । माओत्सेतुङबाट प्रभावित भएर शाक्यसहितका साथी चिनियाँ लालसेनाको जस्तै लुगा लगाएर गाउँ जाने गर्थे । २०३६ पुस ४ गते पार्टीमा भूमिगत भएर काम गर्ने उद्देश्यले तत्कालीन नेकपा मालेमा उनी आबद्ध भइन् ।

राजनीतिमा सक्रिय भएका कारण घरबाट बाहिर निस्कन प्रतिबन्ध थियो । विवाहको कुरा छिनेपछि भने उनी भूमिगत भइन् । भोज जाने भन्दै घरबाट निस्केकी उनले २ पेजको पत्र परिवारका नाममा लेखेकी थिइन् । उनलाई पार्टीले सिन्धुपाल्चोकको पिस्कर गाउँमा जिम्मेवारी दिएको थियो ।

‘रातभर संगठन गरिन्थ्यो । अरू बेला घाम मात्र छिर्ने ओडारमा बसेर दिन काट्थें,’ उनले भनिन्, ‘गरिबी, अशिक्षा र समाजबारे पिस्करमा धेरै बुझ्ने मौका पाएँ ।’ भूमिगत भएको करिब डेढ वर्षमै उनले अमृतकुमार बोहरासँग जनवादी विवाह गरिन् । पछि भूमिगत अवस्थामै २०४५ सालमा उनी इलाममा पक्राउ परिन् ।

करिब एक दशक भूमिगत बनेकी उनले २०३५ सालमा ३५ दिन र २०४६ सालमा १२ दिन जेल जीवन भोगिन् ।
२०४६ सालको परिवर्तनपश्चात् उनको खुला राजनीतिक जीवन सुरु भयो । सानै उमेरमा विद्रोह गरेको परिवारसँग २०४६ सालको बहुदलपश्चात् मात्रै मिलन भयो ।

उनले २०६१ सालमा महिला बालबालिका तथा समाज कल्याण र २०६५ मा उद्योगमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन् । २०५६ सालमा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभामा समानुपातिक सदस्य भइन् ।-दैनिक न्युज नेपाल

(function(d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src="https://connect.facebook.net/en_GB/sdk.js#xfbml=1&version=v3.2&appId=993051320823621&autoLogAppEvents=1"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk')); तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज