प्रभावकारी शिक्षाका लागि शिक्षकलाई ल्यापटप


प्रभावकारी शिक्षाका लागि शिक्षकलाई ल्यापटप

सांकेतिक

कोरोना सङ्क्रमण फैलिन नदिन गरिएका बन्दाबन्दी र निषेधाज्ञाका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेपछि विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका छन् ।

प्रविधिको उच्चतम प्रयोग गर्दै सुरु गरिएको अनलाइन कक्षामा प्राविधिक उपकरणको अभाव नहोस् भन्ने उद्देश्यले तनहुँको केशवटार माध्यमिक विद्यालय र बागलुङको देवीस्थान माध्यमिक विद्यालयले शिक्षकहरूलाई ल्यापटप प्रदान गरेको छ ।

तनहुँको व्यास नगर पालिका–१४ स्थित केशवटार माध्यमिक विद्यालयमा कार्यरत १५ जना शिक्षकलाई ल्यापटप प्रदान गरिएको विद्यालयका प्रअ दुर्गाबहादुर आलेले बताए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छ लाख ५० हजार रुपियाँ व्यास नगर पालिकामार्फत उपलब्ध गराइएको र विद्यालयको २० प्रतिशत रकम साझेदारीमा १५ वटा ल्यापटप खरिद गरी शिक्षकलाई वितरण गरिएको थियो । विद्यालयमा इन्टरनेट जडान गरि सकिएकाले ल्यापटप पाउने शिक्षकले अब विद्यालयमा उपस्थित भएर अनलाइन कक्षा सञ्चालन गर्ने छन् ।

ल्यापटप पाउने शिक्षकलाई ल्यापटप चलाउने तरिका र अनलाइन पठनपाठन विधिबारे प्रशिक्षणसमेत दिइने छ । बागलुङको निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यमिक विद्यालयमा कार्यरत १६ जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ ।

निसीखोला गाउँपालिकाको छ लाख ५० हजार र विद्यालयको आन्तरिक स्रोतबाट छ लाख ५० हजार गरी १३ लाख रुपियाँको लागतमा ल्यापटप, कक्षाकोठामा स्मार्ट टिभी र प्रोजेक्टर जडान गरेको थियो ।

कक्षाकोठाको वातावरण प्रविधिमैत्री बनाउँदा पठनपाठन क्रियाकलाप विद्यार्थी केन्द्रित हुने प्रधानाध्यापक झगबहादुर क्षेत्रीको भनाइ छ ।

ल्यापटपको उपयोगिताबारे विद्यालयका सबै शिक्षकलाई आधारभूत कम्युटर सीप तालिम प्रदान गरिएको थियो ।

शिक्षकहरूले कक्षा कोठामा चक, डस्टर वा मार्करको ठाउँमा ल्यापटप र प्रोजेक्टरको प्रयोग गर्ने प्रधानाध्यापक क्षत्रीको भनाइ छ ।

विद्यालयले चन्दा सङ्कलनबाट ६५ लाख रुपियाँ नियमित ब्याज प्राप्त हुने गरी वित्तीय संस्थामा राखेको छ । सोही रकमको ब्याजबाट प्राप्त हुने पैसाले विद्यालयका शैक्षिक तथा भौतिक निर्माणमा खर्च हुनेगरेको विद्यालयले जनाएको छ । विद्यालयमा ४१० जना विद्यार्थी अध्ययनरत रहेका छन् । गोरखापत्र

TK Viber

प्रकाशित: २७ श्रावण २०७८, बुधबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज