देउवाजस्तो सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु देशको विडम्बना


काठमाडौं,साउन २५-

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार बिहानै एक फेसबुक पोष्ट मार्फत पार्टी नेतृत्वप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन्। पौडेलको असन्तुष्टि पार्टीको महाधिवेशनमा भइरहेको ढिलाईप्रति थियो। उनले सभापति शेरबहादुर देउवाको चरम असफलता र लापरवाहीका कारण यो ढिलाइ भएको आरोप लगाएका छन्।

‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधान समातेर ६ महिना बढाइयो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइरहेको छ’, पौडेलले फेसबुकमा लेखेका छन्।

नेपाली कांग्रेसको विधानले हरेक चार वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ। पार्टीको १३ औं महाधिवेशनबाट २०७२ फागुन २४ मा शेरबहादुर देउवा सभापति चुनिएका थिए। पटक पटकको ढिलाइपछि आगामी भदौ १६ देखि १९ को लागि कांग्रेसको १४ औं महाधिवेशनको समय तोकिएको छ। तर हालसम्म कांग्रेस क्रियाशील सदस्यताको विवादमै रुमलिरहेको छ।

कांग्रेसले संविधान अनुसार भनेर दोस्रो पटक थपेको समय पनि भदौ २३ गते सकिंदैछ। यो समयभित्र महाधिवेशन नभएर पार्टी संकटमा पर्ने पौडेलले चिन्ता व्यक्त गर्दै आएका छन्। तर देउवा भने निर्वाचन आयोगमार्फत समय थप्ने चर्चा चलेको छ। यही कुरालाई संकेत गर्दै पौडेलले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको आरोप लगाएका छन्। पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु यो देशको विडम्बना भएको आक्रोश समेत पोखेका छन्। पार्टीमा महाधिवेशन विवाद चलिरहँदा सभापति देउवा सरकारको नेतृत्व गर्न पुगेका छन्।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज