के हामी कोरोना तेस्रो लहरका लागि तयार छौं ? – Thulo Khabar


अस्पतालको इमरजेन्सीका सबै बेडहरु भरिएका हुन्थे । कोभिड वार्डको त झन् कुरै छाडौं । आइसियूमा जानको लागि बिरामीले कुनै अर्को बिरामीको मृत्यु पर्खिनु बाहेकको विकल्प रहँदैनथ्यो । नेपालमा बाँके जिल्लाबाट शुरु भएको कोरोनाको दोस्रो लहरबारे लेख्न र पढ्न पनि मुस्किल हुन्छ । मलाई अहिले पनि ती हृदयविदारक कहालीलाग्दा दिनहरू सम्झँदा त्यति नै बढी सकस र पीडा भरिएर आउँछ ।

दैनिक अस्पतालमा बेड मिलाउनु पर्‍यो भनेर ३०–४० वटा त फोन आउन्थ्यो । इतिहासकै संगीन मोडमा उभिएर बिरामी हेनुपर्ने अवस्था थियो । हरेक दिन ड्यूटीबाट फर्केर कोठामा आउँदा नभक्कानिएको दिन हुँदैनथ्यो । एकातिर बिरामीहरूको छट्पटाई उतिकै हुन्थ्यो भने अर्कोतिर बिरामीको आफन्तको गुहार । अनि बीचमा हामी स्वास्थ्यकर्मी चाहेर पनि केही गर्न नसकिने अवस्थामा रहन्थ्यौं । त्यसैले बिरामीका आफन्तसँग सुरुमा नै माफी मागेर बिरामी हेर्नुपर्ने अवस्था थियो ।

विभिन्न तथ्याङ्कहरूलाई विश्लेषण गर्दै यो लेख तयार पार्दासम्म हाम्रो देश नेपाल कोरोना महामारीको जोखिममा अहिले पनि विश्वकै ४०औँ स्थानमा रहेको छ । नेपालमा पहिलो, दोस्रो गरी अहिलेसम्म आइपुग्दा १० हजार ३८ जनाले अनाहकमा कोरोना भाइरसको कारणले ज्यान गुमाइसकेका छन् । हालसम्म ७ लाख १२ हजार ७४० जना नेपालीहरू संक्रमित भइसकेका छन् । अहिले पनि नेपालमा ३४ हजार ९४२ जना सक्रिय संक्रमितहरू रहेका छन् । हालसम्म ६ लाख ६७ हजार २७० जना बिरामीहरू संक्रमणमुक्त भइसकेका छन् ।

डा. देवेन्द्र आचार्य

पहिलो लहरमा कोरोना महामारीको खासै मेसो नै नपाएका हामी नेपाली तथा आम स्वास्थ्यकर्मीका लागि दोस्रो लहरको कोरोना महामारी २०७८ साल नयाँ वर्षको सुरुवातसँगै एकदमै ठूलो चुनौती बनेर आइदियो । तुलनात्मक हिसाबमा हेर्ने हो भने दोस्रो लहरमा संक्रमित बिरामीहरूको अवस्था पहिलो लहरको कोरोना महाव्याधिभन्दा निकै नै बिग्रेको अवस्थामा थियो ।

तथ्याङ्क केलाउँदा दोस्रो लहरको कोरोना महाव्याधिलाई यसरी स्मरण गर्न सकिन्छ- २०७८ वैशाख ४ गते ७६८ जनामा संक्रमण देखिएको थियो भने भोलिपल्ट यो संख्या एक्कासी बढेर १०१५ पुग्यो । संक्रमितको संख्या क्रमशः बढ्दै २०७८ वैशाख २८ गते एकैदिन ९ हजार ३१७ मा पुगेर उच्च विन्दु छोयो । त्यसैगरी वैशाख महिनाको १९ गतेबाट नेपालमा कोरोना संक्रमितहरूको मृत्यु अनुपात बढ्न थाल्यो र अहिलेसम्मकै उच्च दरमा संक्रमितहरूको ज्यान जान थाल्यो ।

त्यसैगरी, क्रमशः असारको पहिलो साताबाट केसहरू बिस्तारै घट्दै गएको देखिन्छ । यसरी दोस्रो लहर शुरु भएको बाँके जिल्लामा मात्र २०७८ साल नयाँ वर्षको सुरुवातसँगै हालसम्म २६४ बाँके जिल्लाबासी र बाहिरी जिल्लाका २८९ गरी ५५३ जनाले कोरोना महामारीका कारण ज्यान गुमाउनु परेको छ ।

यहीबीचमा बाँकेमा मात्रै कुल १२ हजार ७३५ जना संक्रमित भएका थिए । भेरी अस्पतालमा मात्रै वैशाख र जेठ महिनामा गरेर कुल १२१५ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए भने २९३ जनाको मृत्यु भएको थियो । यता नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ७९७ जना संक्रमित अस्पताल भर्ना भए भने १६२ जना संक्रमितले ज्यान गुमाए ।

तथ्याङ्कमा देखिएका अंकहरू उच्चारण गर्न जति सहज छ वास्तविकतामा यो भनेको हाम्रो जस्तो मुलुकका लागि बहुत चुनौती र नमिठो इतिहास हो ।

नेपालमा लगभग २०७७ भाद्रबाट सुरु भएको पहिलो लहरको कोरोना महाव्याधि मंसिरको अन्तिमसम्म चल्यो । पहिलो लहर नेपाललगायत विश्वकै लागि नयाँ थियो । विश्व नै एकप्रकारले आतंकित भएर आफूसँग भएको जनशक्ति, पूर्वाधारलगायतले भ्याएसम्म पहिलो लहरलाई थेग्न प्रयास गर्‍यो । हाम्रो देश नेपालमा पनि उपलब्ध जनशक्ति, पूर्वाधारलगायत राज्यका निकायहरूले उच्च मनोबलका साथ काम गरेर पहिलो लहरलाई एक हदसम्म नियन्त्रणमा ल्याउन सफल भए पनि । तर, प्रश्न अब उठ्छ कि पहिलो लहरबाट दोस्रो लहरको महामारी आउने बेलासम्म राज्यसँग झण्डै ६ महिना समय थियो । यो समय महामारी नियन्त्रण तथा पूर्वतयारीका लागि पर्याप्त हो । यो कुरामा राज्य चुक्यो । प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले नै कोरोना महामारीको रोगथाम तथा नियन्त्रणलाई कहिले बेसार पानी र कहिले अम्बाको पातसँग खाएर हुन्छ भनेर सामान्यीकरण गरेपछि महामारीप्रति राज्यको नजर प्रष्ट हुन्थ्यो ।

तेस्रो लहर अब केही दिनमै नेपाल भित्रिने लगभग निश्चित नै छ । हामीले यो बीचमा कति सङ्ख्यामा नयाँ स्वास्थ्यकर्मीहरूको सरकारी तबरबाट अस्पतालहरूमा भ्याकेन्सी खोल्यौं ?

यता हामी चिकित्सकहरू तथा आम स्वास्थकर्मीहरूका लागि ती दिनहरू निकै चुनौती नै बनेर आएका थिए । एकातिर आफू, घरपरिवार र आफन्तहरूको चिन्ता हुन्थ्यो भने अर्कोतर्फ बिरामीहरूको चाप बढिरहेको थियो । हरेक ड्यूटीमा कोठाबाट निस्कनु अगाडि मेरो दिमागमा विभिन्न कुराहरू खेल्थे । आज यति धेरै बिरामीहरूले फोन गरेका छन्, मैले आज कतिवटा बेड खाली गरेर नयाँ बिरामी भर्ना गर्न सकूँला !

कतिपयबेला समय पनि अनुकूल नभइदिँदो रहेछ । आफैंले कोरोना संक्रमित भएको भाइलाई भर्ना गरेको तर पनि बचाउन सकिएन । उफ ! लगतै मेरा अग्रज डा. श्याम दाइको परिवारको दाजु र दिदीलाई पनि बचाउन सकिएन । मन निकै नै शून्य अवस्थामा पुगेर मनोबल नै गिरेर आउँथ्यो । कति पटक डा. श्याम दाइ र म निरीह बन्दै पीडाबाट डसिँदा भक्कानिएर रुन्थ्यौं । बेलाबेलामा धनगढीमा कार्यरत आदरणीय डा. सुमित पाण्डे सरले फोनमा भएपनि हामी दुवै जनालाई ढाडस दिइरहनु हुन्थ्यो । यता अस्पतालमा सँगै काम गर्ने सहकर्मी तथा सिनियर डाक्टरहरू एकपछि अर्कोगरी संक्रमित भइरहेका थिए । यसरी आफूभित्र शून्य मनोबल भएपनि बिरामीको सामुन्ने उच्च मनोबलका साथ उपचार गर्दै हामी दोस्रो लहरको नमिठा इतिहासहरूलाई भुल्न सकिरहेका छैनौं ।

कार्यरत रहेको चिकित्सकका हैसियतले कुरा गर्दा बाँके जिल्लाबाट दोस्रो लहर भित्रिने छनक यहाँका स्थानीय जनप्रतिनिधि, सिडियो, सुरक्षाकर्मीका प्रमुखलगायत जिम्मेवार व्यक्तिहरूले नपाएका भने होइनन् । भारतसँग खुल्ला सिमाना जोडिएको बाँके जिल्लामा ७० प्रतिशत कुराहरू भारतीय सिमानाको बजारमा निर्भर रहने गर्दछ । भारतको उत्तरप्रदेश, दिल्लीलगायतका राज्यहरूमा कोरोनाले तबाही मच्चाइरहेको बेला यता जिल्लाको जमुनाहा–रुपैडिहा नाका भने सधैं खुल्ला नै रहन्थ्यो । मानिसहरू कति आए र कति गए भन्ने कुनै हिसाबकिताब नै रहँदैनथ्यो यो नै दोस्रो लहर कोरोना महामारीको प्रमुख कारण बन्यो र यसमा राज्य निरीह नै रह्यो । झण्डै यस जिल्लामा भएका दुई ठूला अस्पतालले धेरै हदसम्म बिरामीको चापलाई रोकेका हुन् । यो क्षेत्रकै सबैभन्दा ठूलो तथा पुरानो सरकारी अस्पताल भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले दोस्रो लहरलाई आफूले भ्याएसम्म बिरामीहरूको उपचार गर्ने प्रयास गरे ।

तर, जब राज्यले २०७८ को असारबाट दोस्रो लहर अन्त्यको अनौपचारिक घोषणासँगै लकडाउन फितलो पार्न थाल्यो तब एउटा प्रश्न खडा भएको थियो- के हामी सम्भावित तेस्रो लहरका लागि तयार छौं ? तयारीका नाममा हाल देखिनेगरी राज्यले बाहिरी देशबाट नेपाली नागरिकहरूलाई भ्याक्सिन ल्याएर लगाउने बाहेकको अन्य तयारी गरेको देखिँदैन । त्यो पनि हालसम्म नेपालको कुल जनसंख्याको १० प्रतिशतले पनि खोप लगाउन पाएका छैनन् ।

यता कोरोना भाइरसले आफ्नो स्वरुप बदल्दै नयाँ नयाँ भेरियन्टमा देखिन थालिसकेको छ र भर्खरै कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा भेरियन्टको त्रिबल म्युटियन्ट (बी.१.६१८) छिमेकी राष्ट्र भारतमा पनि देखिन थालिसकेको छ । यसले नेपालमा एउटा जनाउ घन्टी दिइसकेको छ । तीनवटा म्यूटेन्ट भएर देखा परेको डेल्टा भाइरसलाई हाल बेलायत, अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले एकदमै उच्च सतर्कताका साथ लिइरहेका छन् । सामान्य रुघाखोकी जस्तै लक्षण भएको डेल्टा भेरियन्टको यो तीनवटा म्यूटेन्ट भाइरस निकै नै खतरनाक छ र एकजना व्यक्तिबाट दुई जनालाई सर्दछ र अरुभन्दा यसको संक्रमण दर एकदमै तीब्र गतिमा रहेको छ । साथै, यसले थुप्रै मानिसहरूको ज्यान लिने कुरा विज्ञहरूले पूर्वानुमान गरिरहेकै छन् । कुर्सीको लुछाचुँडीमा पक्ष प्रतिपक्षको लडाइँको शिकार भएका हामी नेपालीको स्वास्थ्यको लागि विगतको सरकारले के गर्‍यो गरेन भन्दा पनि अबको सरकारले कहाँसम्म गर्छ भन्ने महत्वपूर्ण कुरा हो र यसलाई आम नेपालीले त्यहि अनुसार मनन् गर्नेछन् ।

कोरोना महामारीको पहिलो लहरबाट दोस्रो लहरसम्म आइपुग्दा राज्य र राज्यका निकायहरू साँच्चै नै चुकेका नै हुन् । यो कुरा राज्य, स्थानीय सरकार र जिम्मेवार निकायहरूले आत्मसाथ गर्नै पर्दछ । साँच्चै हामीले पहिलो लहरबाट दोस्रो लहरसम्म आइपुग्दा सरकारी तवरबाट कतिवटा नयाँ आइसियू, भेन्टिलेटर र अक्सिजन प्लान्टसहितका अस्पताल निर्माण गर्‍यौं ? हामीले यो बीचमा कति सङ्ख्यामा नयाँ स्वास्थ्यकर्मीहरूको सरकारी तबरबाट अस्पतालहरूमा भ्याकेन्सी खोल्यौं ? यो बीचमा हामीले कतिवटा सिमानामा स्वास्थ्य क्वारेन्टाइन बनाएर भारत तथा अन्य देशबाट आउने मानिसहरूको पीसीआर जाँच गर्‍यौं ? यस्ता थुप्रै प्रश्नहरूमाझ राज्य एवम् राज्यका निकायहरू चुकेका देखिन्छन् । यसले गर्दा तेस्रो लहर अब केही दिनमै नेपाल भित्रिने लगभग निश्चित नै छ ।

तसर्थ, अब हामी आम स्वास्थकर्मीहरू, मिडियाकर्मीहरू, सुरक्षाकर्मीलगायत राज्यलाई झकझकाउने निकायका व्यक्तित्वहरूले आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गरी कोरोना महामारीको तेस्रो लहरबाट नेपाली नागरिकलाई बचाउन लागिपर्नु पर्नेछ । तेस्रो लहरको तयारी र त्यसबाट बच्नका लागि राज्यले गर्नुपर्ने कामहरू बारेमा केही सुझाव-

१) नागरिकलाई स्वास्थ मापदण्ड कडाइका साथ लागु गर्न आग्रह गर्दै कोरोना महामारीबारेमा जनचेतना फैलाउने र कोभिड संक्रमित बिरामीहरूको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने ।

२) १२ वर्ष भन्दा माथिका नागरिकहरूलाई जतिसक्यो छिटो खोपको व्यवस्था गर्ने ।

३) अक्सिजनको कमि हुन नदिन देशभरिका अक्सिजन प्लान्ट र अस्पताल बाहेक अन्य ठाउँमा प्रयोग हुने अक्सिनको विवरण संकलन गरेर अक्सिजनको खपतलाई न्यूनिकरण गर्दै यसके पर्याप्त उपलब्धता सुनिश्चित गर्ने ।

४) अव्यवस्थित तबरले खोलिएका आइसोलेसन सेन्टरहरू बन्द गरेर एक स्थानीय तहमा कम्तिमा पनि ५० शय्या बराबरको एउटा कोभिड अस्पतालको व्यवस्था गर्ने ।

५) परीक्षणको दायरालाई फराकिलो पार्दै पीसीआर परीक्षण सङ्ख्यालाई निःशुल्क बनाउने र पीसीआर परीक्षण हुन नसक्ने ठाँउमा एन्टिजेन परीक्षण गरिनुपर्ने ।

६) विदेशबाट आएका विशेष गरी भारतसँग खुल्ला सिमाना भएका जिल्लाहरूमा कडाइका साथ परीक्षण गरी उचित आइसोलेसनको व्यवस्था गर्ने ।

७) संक्रमण बढेको ठाउँमा चेन ब्रेक गर्नका लागि अविलम्ब लकडाउनको व्यवस्था गरिनुपर्दछ ।

८) संक्रमित क्षेत्रमा मास टेस्टिङको अनिवार्य व्यवस्था गरिनुपर्दछ ।

९) संक्रमित बिरामीहरूलाई उचित स्क्रिनिङ् र अक्सिजनको मात्रा हेरेर होम आइसोलेसन र अस्पतालमा पठाउने बिरामीलाई छुट्टाएर होम आइसोलेसनमा बसेका बिरामीहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिरहने ।

१०) राज्यले निजी तथा सरकारी अस्पतालका स्वास्थकर्मीलाई एकै ठाउँमा ल्याएर युनिफाइड टिम बनाएर आवश्यकताअनुसार परिचालन गर्नुपर्दछ ।

यसरी हामी सम्पूर्ण आम नागरिकहरूले सावधानी अपनाएर राज्य तथा स्थानीय तहरूलाई सहयोग गरी कोरोना महामारीको तेस्रो लहर नेपालमा प्रवेश हुनबाट रोक्न सक्दछौं । विगत केही महिना अगाडि मात्रै हामीले भोग्नुपरेको नमिठो इतिहासबाट अब एउटा पाठ सिकेर भविष्यमा देशका आम नागरिकलाई कोरोनाको तेस्रो महामारीबाट कसरी बचाउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर जिम्मेवारीपूवर्क अगाडि बढ्न सकिन्छ ।

 (डा. आचार्य हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, बाँकेमा कार्यरत छन्)

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज