चितवनका विभिन्न ठाउँमा सीसी क्यामरा व्यवस्थापन गर्न कार्यदल बन्यो


चितवन, साउन १९-

चितवनको सुरक्षा व्यवस्थालाई चुस्त बनाउँदै सम्भावित अपराधिक घटना हुन नदिन कार्यदल गठन भएको छ ।

उद्योग वाणिज्य संघको समन्वयमा अनपेक्षित अपराधिक घटना घटेको खण्डमा अपराधी पहिचान गर्नको लागि कार्यदल गठन भएको हो ।

उद्योग वाणिज्य संघ चितवनको सचिवालयमा आज बसेको सरोकारवालाहरुको बैठकले चितवनका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्ने, निजी क्षेत्रका व्यवसायीबाट जडान भएका आफ्नो व्यवसायका क्यामराको उचित व्यवस्थापन गर्ने , सचेतना फैलाउनेलगायतका कार्यहरु गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालको संयोजकत्वमा सीसी क्यामरा व्यवस्थापन कार्यदल गठन गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए । उनले सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम व्यवासायिक एवम् जिल्लाको सुरक्षाका लागि सीसी क्यामरा व्यवस्थापन गरिने बताए ।

कार्यदलको प्रारम्भिक बैठकले हाल राजमार्ग क्षेत्र र बजारका मूख्य व्यापारिक केन्द्रहरुमा जडान भएका क्यामराको अध्ययन अवलोकन गर्दै मर्मत संभार गर्ने र तत्पश्चात दीर्घकालीन योजना बनाइ व्यवस्थित गर्ने निर्णय भएको कार्यदलका संयोजक एवम उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालले बताए । गत साउन ४ गते संघका पदाधिकारी, संघमा आवद्ध वस्तुगत संघ, जिल्ला प्रहरी प्रमुख बीच भएको छलफल बमोजिम कार्यदल गठन गरी व्यवस्थापन गर्ने कार्यक्रम तय भएको संघका कार्यकारी निर्देशक एवम् कार्यदलका सदस्य–सचिव निलबहादुर केसीले जानकारी दिए ।

चितवन जिल्लामा अपराधिक क्रियाकलाप लगायत सवारी दुर्घटनाका गतिविधिहरु बढ्न नदिनुका साथै घटना घटिसके पश्चात अपराधि पत्ता लगाउनका लागि सीसीक्यामरा एक अनिवार्य प्रविधि रहेकोले यसलाई व्यवस्थापन गर्न लागिएको हो ।

उद्योग वाणिज्य संघ–चितवनले करिब एक दशक पहिले स्थानीय प्रशासन, स्थानीय तहसँगको समेत सहयोगमा थर्ड भिजन परियोजनाअन्तर्गत विभिन्न स्थानमा सीसी क्यामरा व्यवस्थापन गरेको संघको सचिवालयले जनाएको छ । उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष भोजराज कौडालको संयोजकत्वमा गठित कार्यदलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख भगवानराज थापा, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रघुसिंह विष्ट सदस्य रहेका छन् । यसैगरी सदस्यमा संघका कार्यसमिति सदस्य चेतनारायण सापकोटा, विनोद पौडेल, भानुभक्त न्यौपाने तथा वस्तुगत संघका तर्फबाट सन्तोषजनक भुषाल, हिम्मत पुरी, टेकबहादुर विश्वकर्मा, दिलकुमार श्रेष्ठ र भुपेन्द्र कर्माचार्य रहेका छन् भने सदस्य सचिवमा संघका कार्यकारी निर्देशक निलबहादुर केसी रहेका छन् । यसैगरी कार्यदलको प्रारम्भिक बैठकले भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति र अन्य स्थानीय निकायबाटसमेत प्रतिनिधित्व गराई कार्यदललाई विस्तार गरी थप कार्यक्रम गर्ने भएको छ ।

<!---->

नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज