के २० वर्षपछि तालिवान सुध्रिएको हो ? – Thulo Khabar


३० असार, काठमाडौं । अमेरिकी सेना फिर्तीसँगै अफगानिस्तानमा तालिवानलगायत अन्य चरमपन्थी विद्रोही समूहको आक्रमण र गतिविधि हृवात्तै बढेको छ ।

अमेरिकाले अगष्ट महीनाको अन्तिमसम्ममा अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने प्रक्रिया शुरू गरिसकेको छ । यससँगै आफूले धेरै जिल्लामा नियन्त्रण कायम गरेको उसको दाबी छ ।

तालिवानले आक्रमण बढाएसँगै केही सीमावर्ती क्षेत्रमा रहेका सैनिकहरू इरान वा ताजकिस्तानतर्फ भाग्न थालेका छन् । सोमबार इरानले तालिवानसँग त्रसित भएर आएका सैनिकलाई हवाई मार्गबाट अफगानिस्तान पठाएको थियो ।

अफगानिस्तानमा तालिवानको प्रभाव अझै बढ्न सक्ने आशंका छ । केही समयअघि अमेरिकी सैन्य कमाण्डरले विदेशी सेनाले अफगानिस्तान छाड्दा मुलुकमा गृहयुद्ध फैलिन सक्ने चेतावनी दिएका थिए । यसले पनि अफगानिस्तानमा अस्थिरता बढ्न सक्ने आशंका बढाएको छ ।

सन् २००१ मा अमेरिकाले आक्रमण गर्नुपूर्व पाँच वर्षसम्म तालिवानले राज गरेको थियो । अब अफगानिस्तान २० वर्षभन्दा पहिलाकै अवस्थामा फर्किने हो त ? भन्ने आशंका बढेको छ । यद्यपि २० वर्ष पहिला र अहिलेको अवस्थामा काफी परिवर्तन आएको छ ।

सन् १९९६ देखि २००१ सम्म तालिवानले अफगानिस्तानमा इस्लामिक राज्य घोषणा गर्दै शासन चलाउँदा उसलाई केवल तीन मुलुकको समर्थन थियो । तालिवानलाई समर्थन गर्ने मुलुकमा पाकिस्तान, यूएई र साउदी अरेबिया थिए ।

साथै उसले अन्तर्राष्ट्रिय मामिलामा पनि दक्खल दिने गरेको थियो, जुन अन्तर्राष्ट्रिय समुदायको लागि सहृय थिएन । उसले वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गर्ने अल कायदालाई संरक्षण दिंदै अमेरिकालाई समेत चुनौती दिने काम गरेको थियो ।

तालिवानले अफगानिस्तानमा शासन चलाउने क्रममा निकै कडा किसिमको कानून लगाएको थियो र यो क्रममा अफगानिस्तानमा मानवअधिकारको मुद्दा पनि अमेरिका लगायतका मुलुकले उठाएका थिए ।

तालिवानले आफ्नो शासनकालमा अफगानिस्तानमा हत्या र परस्त्रीगमन जस्ता घटनामा आरोपीलाई सार्वजनिक स्थानमा फाँसी दिने गरेको थियो । चोरीको घटनाका आरोपीलाई अंगभङ्गको सजाय दिइन्थ्यो । पुरुषहरूले दाह्री पाल्नु अनिवार्य थियो भने महिलालाई बुर्का अनिवार्य ।

तालिवानले अहिले अन्तर्राष्ट्रिय वैधता खोजिरहेको छ र आफूले शासनसत्ता सम्हालेमा पहिलेको हिंसात्मक बाटो त्याग्ने बताएको छ । अमेरिका, भारत र चीनलगायतका मुलुकहरूले तालिवानसँग संवाद पनि अगाडि बढाएका छन्

त्यतिबेला उसले टेलिभिजन, संगीत र सिनेमा हेर्न पनि प्रतिबन्ध लगाएको थियो । साथै १० वर्ष वा सोभन्दा बढी उमेरका बालिकाहरूलाई विद्यालय जानमा पनि रोक लगाइएको थियो । मानवअधिकार मात्र होइन, तालिवानमाथि सांस्कृतिक दुव्र्यवहारको पनि आरोप लागेको थियो । सन् २००१ मा तालिवानले चर्चित बामियान बुद्धका मूर्ति विस्फोट गराउनु त्यसको उदाहरण हो ।

तालिवानको शासनकालमा विशेषगरी महिला अधिकारको अवस्था भयावह देखिएको थियो । तालिवानले महिलालाई धेरै क्षेत्रमा रोक लगाएको थियो । यद्यपि अहिलेको अवस्था भने निकै फरक छ ।

तालिवानले अब अफगानिस्तानमा आफ्नो नियन्त्रण हासिल गरेको अवस्थामा उसको रणनीतिमा उल्लेख्य परिवर्तन हुनसक्ने जानकारहरूले बताएका छन् । उसले अहिले अन्तर्राष्ट्रिय वैधता खोजिरहेको छ र आफूले शासनसत्ता सम्हालेमा पहिलेको हिंसात्मक बाटो त्याग्ने बताएको छ । अमेरिका, भारत र चीन लगायतका मुलुकहरूले तालिवानसँग संवाद पनि अगाडि बढाएका छन् ।

केही दिनअघि बीबीसीसँगको कुराकानीमा बेलायतका चिफ अफ डिफेन्स स्टाफ, जनरल सर निक कार्टरले तालिवान नेतृत्वले आफ्नो यसअघिको गल्तीबाट पाठ सिकेको बताएका थिए । उनका अनुसार तालिवानले सत्ता साझेदारी गर्ने वा उसलाई साथ लिएर अघि बढ्दा पनि अन्तर्राष्ट्रियस्तरमा भने दक्खल दिन चाहने छैन ।

त्यसको केही संकेतहरू पनि देखिएका छन् । तालिवानले आफ्नो अन्तर्राष्ट्रिय छवि पनि सुधार गर्ने प्रयास गरिरहेको छ । केही समयअघि बीबीसीकै एक रिपोर्टमा तालिवानले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा बालबालिकालाई शिक्षा तथा नागरिकहरूलाई स्वतन्त्रता दिएको दाबी गरेका थिए । यसले पनि उनीहरू अन्तर्राष्ट्रिय समर्थन लिन चाहन्छन् भन्ने देखिन्छ ।

त्यसो त अहिले तालिवान सत्तामा आए उसले पहिलाको भन्दा धेरै मुलुकको समर्थन पाउन सक्ने संकेत देखिएको छ । तालिवानले कतारको राजधानी शहर दोहामा केही मुलुकका प्रतिनिधिहरूसँग भेटिसकेको छ । अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरूको रक्षाको लागि पनि उनीहरूले तालिवानसँग सहकार्य बढाउनु पनि उनीहरूको बाध्यता हुन सक्छ ।

त्यसैले पनि धेरै मुलुकबाट उसले समर्थन पाउन सक्ने सम्भावना बढी छ । अन्तर्राष्ट्रियस्तरमा उसले मान्यता पाएको अवस्थामा तालिवान अफगानिस्तानमा अहिलेसम्मकै शक्तिशाली बन्न सक्छ ।

यद्यपि तालिवानले इस्लामिक कानून लागू गर्ने लगायतका अडान भने कायमै राखेको छ । अहिले यसै विषयमा अफगानिस्तानको सरकारसँग तालिवानको वार्ता मिल्न सकेको छैन । यस विषयमा भने तालिवानले अन्तर्राष्ट्रियस्तरबाट दबाबको सामना गर्नुपर्ने हुन सक्छ ।

तालिवान अफगानिस्तानमा फेरि आउने हो भने विशेषगरी सबैभन्दा धेरै प्रभावित महिला हुनेछन् । उनीहरूले अहिले पाउँदै आएको अधिकार गुमाउने जोखिम धेरै छ । सन् २००३ मा भर्खरै तालिवानको शासनबाट मुक्त हुँदा अफगानिस्तानमा माध्यमिक तहमा अध्ययन गर्ने छात्राको संख्या ६ प्रतिशत थियो ।

सन् २०१७ सम्म आइपुग्दा यो संख्या ३९ प्रतिशत पुगेको विश्व बैंकको तथ्यांक छ । विश्व बैंकको अर्को तथ्यांकलाई आधार मान्ने हो भने सन् २०१९ मा अफगानिस्तानमा क्याम्पस वा विश्वविद्यालयमा पढ्ने छात्राको संख्या पाँच प्रतिशत छ ।

२२ प्रतिशत महिलाले रोजगारी पाएका छन् । नागरिक सेवाको २० प्रतिशत रोजगारीमा महिला छन् । २७ प्रतिशत सांसद महिला छन् भने आफ्नै व्यवसाय भएका महिलाको संख्या एक हजार छ । तालिवान पुनः अफगानिस्तानमा फर्किंदा अफगानिस्तानका महिलाले पाउँदै आएको अधिकारमा व्यापक कटौती हुन सक्छ ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज