सवारी साधनको विवरण नागरिक एपबाटै हेर्न सकिने – Thulo Khabar


२९ असार, काठमाडौं । नागरिक एपको आईओएस भर्सनमा पनि सवारी साधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन् ।

यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो । आईओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर विवरण तथा अन्य जानकारी हेर्न सकिने भएको छ । यस विवरण यसअघि नै एन्ड्रोइड फोनका प्रयोगकर्तालाई उपलब्ध गराइएको थियो ।

नागरिक एपको नयाँ अपडेटमा देखिने ‘सवारी कर’ अन्तर्गत उक्त सुविधा उपलब्ध हुने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । पहिलो चरणमा वागमती प्रदेशका यातायात व्यवस्था÷सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाइएको छ ।

तत्काल नागरिक एपमा आफ्नो सवारी साधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजश्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । साउन १ गतेदेखि भने नागरिक एपबाटै सवारी साधनको राजश्व भुक्तानी र नवीकरण समेत गर्न सकिनेछ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते फुल भर्सनमा सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बीमा कार्यक्रम समेत थपिएका छन् ।

एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुवाती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहादानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नागरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने छन् ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज