कर्णाली प्रदेशमा एफटिटिएच सेवा बिस्तारको योजनामा नेपाल टेलिकम, टेण्डरबाट ‘थर्ड पार्टी’ खोज्दै


नेपाल टेलिकमले कर्णाली प्रदेशमा फाइबरमार्फत दिँदै आएको इन्टरनेट सेवालाई तिब्रगतिमा बिस्तार गर्न अन्य कम्पनीहरु (‘थर्ड पार्टी’ ) मार्फत सेवाको मर्मत सम्भारको कार्य गराउने भएको छ।

केहि दिनअघि कर्णाली प्रदेश निर्देशनालयले टेलिकमको फाइबर टू दि होम-एफटिटिएच सेवा बिस्तार गर्ने कार्यको लागि इच्छुक कम्पनीहरुसँग टेण्डरमार्फत आवेदन माग गरेको हो।

जसअनुसार कम्पनीले कर्णाली प्रदेश अन्तरगतका विभिन्न स्थानहरुमा आफ्नो सेवा बिस्तार तथा मर्मतलाई तिब्रगति प्रदान गर्ने भएको छ।

सुर्खेतस्थित कर्णाली प्रदेश प्रादेशिक निर्देशनालयका सूचना अधिकृत शिवराज खनालले एफटिटिएच सेवाको गुणस्तर सुधार गर्न र ग्राहकहरुको कनेक्सनको मर्मत कार्यलाई तिब्र पार्न सो टेण्डर गरिएको जानकारी दिए।

त्यसैगरि हालको टेण्डरमार्फत छानिएर आउने कम्पनीले सेवाको बिक्री प्रबद्र्धन गर्ने र जडान, मर्मत सम्भारमा तोकिएअनुसारको रकम टेलिकमबाट प्राप्त गर्नेछ।

‘तेस्रो पक्षिय कम्पनीले सेवा प्रबद्र्धन गरेर त्यसमार्फत सेवाग्राही आएको खण्डमा सो कम्पनीले निश्चित कमिशन पाउनेछ,’ उनले टेक्नोलोजीखबरसँग भने ।

त्यसैगरि छनौट हुने कम्पनीले नेपाल टेलिकमको कर्णाली प्रदेशभित्र एफटिटिएच सेवाको बिक्री प्रबद्र्धन, जडान तथा मर्मत सम्भार कार्यको जिम्मा लिनुपर्ने हुन्छ।

अहिले कतिपय स्थानमा समयमा मर्मत हुन नसकेको गुनासोहरु आउने गरेको छ भने सेवा बिस्तार र प्रबद्र्धनको लागि समेत काम गर्नका लागि तेस्रो कम्पनीलाई लिन लागिएको बताईएको छ।

‘टेलिकमले तोकिदिएको निश्चित लाइनहरुको आधारमा ती कम्पनीले कार्य गर्नुपर्ने हुन्छ, र हाम्रो प्राविधिक टिमले पनि त्यसलाई निरन्तर अनुगमन गरिरहेको हुन्छ,’ कर्णाली प्रादेशिक निर्देशनालयमा कार्यरत एक प्राविधिकले भने, ‘ हाम्रो टिमले मात्र नसक्ने तथा हालको मर्मत सम्भारको अवस्थामा सुधार ल्याउन र लाइन समयमा नै नबन्ने समस्या समाधान गर्न आउटसोर्स गर्न लागिएको हो । यसले आगामी दिनमा ग्राहकहरुको गुनासो कम गर्नेछ,’

प्रादेशिक निर्देशनालयका अनुसार त्यसरी लाइन मर्मत गर्दा निश्चित तोकिएको समयावधि भित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ भने ग्राहकको गुनासोहरु समाधान गर्नुपर्ने हुन्छ।

यसका साथै टेलिकमको एफटिटिएच सेवाको बजारीकरण र सेवा प्रबर्द्धनको समेत काम गर्नुपर्नेछ।

हाल कर्णाली प्रदेशको सल्यान र सुर्खेत जिल्लामा टेलिकमले एफटिटिएच मार्फत इन्टरनेट सेवा उपलब्ध गराईरहेको छ भने थप स्थानमा समेत सेवा बिस्तार गर्ने तयारीमा रहेको छ।

कर्णाली प्रदेशभित्रका विभिन्न स्थानहरुमा चार हजार भन्दा धेरै सेवाग्राहीहरुले नेपाल टेलिकमको एफटिटिएच सेवा पाईरहेका छन्।

टेण्डरअनुसार  इच्छुक कम्पनीहरुले २ लाख ५० हजार रुपैयाँ बैंक धरौटीसहित साउन ११  गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज