सीएसआईआरओले अस्ट्रियाली अनुसन्धाताका लागि नोभासार-१ स्याटेलाइट खुला गर्ने


सीएसआईआरओले अस्ट्रियाली अनुसन्धाताका लागि नोभासार-१ स्याटेलाइट खुला गर्ने

कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च सीएसआईआरओले पृथ्वीको अवलोकन गर्ने नोभासार-१ स्याटेलाइटको अस्ट्रेलियाली भाग स्थानीय अनुसन्धाताका लागि खुला गर्ने घोषणा गरेको छ।

यसो गर्नुको उद्देश्य स्थानीय अनुसन्धान तथा विकास योजनालाई समर्थन गर्नु र देशको अन्तरिक्ष उद्योगलाई बढावा दिनु रहेको बुझिएको छ।

सीएसआईआरओको डिजिटल, नेशनल फ्यासिलिटिज एन्ड कलेक्शन्सका कार्यकारी निर्देशक डेभिड विलियम्सले उक्त स्याटेलाइट खुला गर्ने योजनाका बारेमा वर्णन गर्दै मुलुकका कृषि तथा प्राकृतिक प्रकोप व्यवस्थापन जस्ता उद्योगले उक्त स्याटेलाइटलाई आफ्ना अनुसन्धानका लागि आवश्यक तस्बिर लिन निर्देशन दिन सकुन् भन्ने उद्देश्य रहेको बताए।

‘अस्ट्रेलिया पृथ्वी अवलोकनको तथ्याङ्क प्रयोग गर्ने ठूला यूजरमध्ये पर्ने भए पनि हामीले अझै यस स्याटेलाइटलाई आफ्नो हिसाबले काम दिने पहुँच पाएका छैनाैं। त्यसैले नोभासार-१ मा पहुँच खोल्नुले अस्ट्रेलियाको अनुसन्धानको तहमा परिवर्तन गर्ने अन्तरिक्ष उद्योगलाई अर्को महत्वपूर्ण चरणमा पुर्याउने हिसाबले हेर्न सकिन्छ’, उनले भने।

सिन्थेटिक अपर्चर राडार प्रयोग गरिएका कारण नोभासार-१ ले बादल लागेको बेला, धुवाँका बीच वा रातमा गरी सबै प्रकारका मोसममा पृथ्वीको तस्बिर लिन सक्छ।

सीएसआईआरओका अनुसार यस्ता तस्बिरको पहुँचले स्थानीय अनुसन्धातालाई देशको वातावरणलाई नापजाँच, अनुगमन तथा व्यवस्थापन गर्न साथै आगलागी र बाढीजस्ता विपदका बेला प्रकोप व्यवस्थापनका अभ्यासहरुको जानकारी दिन सक्षम बनाउँछ।

सीएसआईआरओका अपरेशन तथा डाटा म्यानेजर डा. एमी पार्करले नोभासार-१ बाट सिन्थेटिक अपर्चर राडारमार्फत् लिइएको तस्बिर यसअघि अस्ट्रेलियामा त्यति धेरै प्रयोगमा नआएको जानकारी दिए।

‘हालसम्म हामीले स्याटेलाइटलाई १ हजारभन्दा बढी तस्बिर लिनका लागि प्रयोग गरिसक्यो जुन अहिले सबै प्रयोगकर्ताका लागि उपलब्ध छ। नोभासार-१ देशको पृथ्वी अवलोकनसम्बन्धी स्रोतसाधनका क्षेत्रमा थप साधन हो र यसले हामीहरुको स्याटेलाइट सञ्चालनको क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ’, उनले भने।

TK Viber

प्रकाशित: २४ असार २०७८, बिहीबार


technologykhabarबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज