महामारीका बीच महाधिवेशन गर्ने उपाय खोजौं – Thulo Khabar


२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका बीच १४औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार लगायतका नेताहरु सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । नेताहरुले भदौमा निर्धारित महाधिवेशन गर्नु साझा दायित्व भएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिलाई सक्रिय बनाउन र पार्टीको बैठक राखेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न आग्रह गरेका छन् ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको डेटा सिस्टममा इन्ट्री गर्न दिएको अन्तिम म्याद मंगलबार मध्यराति १२ बजे सकिंदैछ । हालसम्म करिब ८ लाख डेटा इन्ट्री भएको छ । तर सिन्धुपाल्चोक लगायत कतिपय जिल्लामा विवादका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित भएको छ भने कतिपय जिल्लाको डेटा इन्ट्री भइसकेको छैन ।

केन्द्रीय पार्टी कार्यालयको डेटा सिस्टममा आएका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेपछि उजुरी लिएर छानबिन गर्नुपर्छ । यसका लागि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनेको छ । समितिले प्रष्ट मापदण्ड बनाएर लागू गर्ने हो भने पनि  उजुरी लिएर छानबिन गर्न कम्तीमा एक महिना लाग्ने सक्ने अनुमान गरेको छ ।

जबकि असार २० बाट वडा अधिवेशन गर्नुपर्ने कायतालिका छ । प्रदेश अधिवेशन साउन ६ मा हुनेछ भने केन्द्रीय महाअधिवेशन भदौ ७–१० का लागि तोकिएको छ ।

नेताहरुले प्रदेश र केन्द्रको अधिवेशनको अवधि घटाएर नयाँ कार्यतालिका बनाउन आग्रह गरेका छन् । उनीहरुले वडा तहको अधिवेशन पनि एकैठाउँमा नगरी छरेर गर्ने तथा केन्द्रीय अधिवेशनको मतदान जिल्लामै गर्न सकिने बताएका छन् ।

जवाफमा सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै पदाधिकारी बैठक राखेर आवश्यक निर्णय गर्ने बताएका छन् । ‘हामीलाई समय लम्ब्याउने सुविधा छैन । निर्धारित समयमा गर्न कोरोनाको प्रकोपका कारण अप्ठ्यारो छ । यो अवस्थामा महाधिवेशनलाई कसरी गर्ने भन्ने छलफल भयो,’ भेटमा सहभागी केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘सभापतिले पनि सकारात्मक कुरा गर्नुभएको छ । महाधिवेशन गर्नुको विकल्प छैन ।’

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार तल कमेन्टमा आफ्नो प्रत्रिकृया लेख्न नभुल्नु होला ।

हाम्रो फेसबुक पेज