छ महिना बन्द भए पनि आफ्नै कमाइले खर्च पुग्छ । –  

निषेधाज्ञा अगाडि शर्मिला गुरागाईंका हात खाली हुन्थेनन्। बिहानदेखि बेलुकीसम्म लुगा सिलाउने मेसिनमा खुट्खुट् पार्ने खुट्टाले पनि आराम पाउँथेनन्। अचेल उनी यो सबै ‘मिस’ गरिरहेकी छन्। कहिलेकाहीँ आएर टेलर सफा गर्छिन्। तारकेश्वरको वडा-९ कार्यालय नजिकै उनले सात वर्षअघि बिएन्डसी प्रबशिक्षण केन्द्र खोलेकी हुन्। त्यसयता उनले यसैबाट घर, छोराछोरीको पढाई खर्च धानिरहेकी छिन्। श्रीमानको न्यूरोडमा जुत्ता पसल छ। निषे’धाज्ञामा दुवैको व्यवसाय बन्द भए पनि घर चलाउन हम्मे परेको छैन। शर्मिला भन्छिन्, ‘बचत गरेकाले केही महिना बन्द हुँदा खान समस्या हुँदैन। आम्दानी धेरै भयो भनेर अनावश्यक खर्च गर्ने बानी छैन मेरो। बचाउन सकेको भएर अझै छ महिना बन्द भए पनि आफ्नै कमाइले घर खर्च गर्न पुग्छ। श्रीमानको आश गर्नु पर्दैन।’ टेलरबाट दैनिक तीनदेखि पाँच हजार कमाउँथिन् उनी। १८ हजारमा तीन कोठा भाडा लिएकी छन् जसमा लुगा सिलाउनुका साथै कुर्ता-सुरूवाल, साडी र केही कस्मेटिक सामान बेच्छिन्। बाँकी कोठामा सिलाइ सिकाउँछिन्। अरू बेला दैनिक ११ घन्टा काम गर्ने उनलाई अहिले घरै बस्दा पट्यार लागेको छ। घरमै सिलाइ मेसिन भएकाले चिनेजानका मान्छेको अलिअलि कपडा सिलाइदिन्छिन्।’चिनजानकाले लुगा सिलाइदिनु भन्छन्। नाप दिनेको सिलाइदिन्छु, लिनुपर्ने चाहिँ सिलाउँदिनँ,’ उनले भनिन्। २०६१ सालमा नुवाकोटबाट एसएलसी दिएर उनी कम्प्युटर सिक्न काठमाडौं आएकी थिइन्। एक साथीले उनलाई सिलाइमा आकर्षित गरिदिइन्। गाउँमा फर्केर पनि काम गर्न सकिने र चाँडै कमाइ हुने भनेपछि शर्मिला सिलाइ सिक्न कस्सिइन्। सामाखुसीको तालिम केन्द्रमा तीन महिना तालिम लिइन्। तर एसएलसी पास भएपछि छाडेर कलेज पढ्न थालिन्। कक्षा १२ को परीक्षा दिएपछि बिहे पनि भयो। ‘दिदीहरूको १४ वर्षमा बिहे भएको थियो। म पढ्दै छु भनेर १६ वर्षमा गरिदिए,’ उनी सुनाउँछिन्, ‘नाइँ भन्न सकिनँ।’ श्रीमानको घर पनि नुवाकोट, उनी उतै गइन्। घरको कामधन्दाले पढाइ थन्कियो। तर उनलाई आफैं कमाइ गर्ने सोच आयो। सिडिएमए फोन किनेर घरमा राखिन् र ‘पिसिओ’ सुरू गरिन्। कमाइ हुन थाले पनि यत्तिमा सीमित हुन मन लागेन उनलाई। अझ कमाउनुपर्छ भनेर शर्मिलाले आफ्नो सीप उपयोग गर्ने ठानिन्। ‘दाइलाई मेसिन ल्याइदिन भनेँ। फोनको नाफाबाट बचत गरेको पैसा थियो, दाइलाई दिएँ तर लिन मान्नुभएन,’ शर्मिलाले भनिन्। उध्रेकादेखि नयाँ लुगा सिलाउन थालेपछि कमाइ बढ्यो। घरमा सबै खुसी भए। गाउँमा सरकारी कोटा आएका बेला फेरि सिलाइ र मेसिन मर्मतको तालिम लिइन्। यसैगरी उनले आफूले जानेको सीपलाई निरन्तरता दिँदै सात वर्ष बिताइन्। उनका श्रीमान काठमाडौं बस्थे। शर्मिलाले आफू पनि काठमाडौं जाने र छोरीलाई उतै पढाउने भनिन्। तर श्रीमान मानेनन्।‘आमाबालाई साथी हुन्छ भनेर बिहे गरेको, कहाँ जाने, म काठमाडौंमा पाल्न सक्दिनँ भन्नुभयो,’ शर्मिलाले सम्झिइन्, ‘घरमा सबै कामधन्दा भ्याइरहेकी बुहारी भनेर सासूससुराले मलाई पठाउन मान्नुभएन।’ तर २०६८ सालमा उनले जिद्दी गरेर तीन वर्षे छोरी लिएर काठमाडौं आइन्। आएको एक महिनामै छोरा जन्मे। म्हैपी बस्ने उनले छोरीलाई नजिकै स्कुल भर्ना गरिदिइन्। तर शर्मिलाको कमाइ नहुँदा उनलाई मुश्किल भयो। ‘श्रीमानले पैसा दिनुहुन्थेन। छोरीलाई दस रूपैयाँ खाजा किन्न दिनुहुन्थ्यो, त्यत्ति हो। छोरालाई सधैं जाउलो खुवाउँथेँ, आफू त्यही खान्थेँ, छोरीलाई पनि स्कुलबाट आएपछि त्यही खुवाउँथेँ,’ उनले सुनाइन्। शर्मिला र उनका श्रीमानसँगै देवरको परिवार पनि बस्थ्यो। तर मनमुटाव बढ्दै गएपछि देवरहरू अलग्गिए। श्रीमानले पनि शर्मिलालाई नै गाली गरे। मन दुखेको भए पनि उनलाई गाउँ फर्किन मन लागेन। बच्चा हुर्केपछि काम गर्छु भन्ने सोचेर बसिन्। केही वर्षपछि मनमैजूमा उनका सासूससुराले घर बनाए। एउटा तलामा उनीहरू बस्थे, अर्कोमा देवरको परिवार। देउरानीलाई सुत्केरी स्याहार्न गाउँबाट सासूआमा आएकी थिइन्। उनैलाई आफ्ना छोरा पनि हेर्न लगाएर शर्मिला काममा जान थालिन्।गाउँमा सिलाएकाले मात्र यहाँ टेलर खोल्न सकिन्थेन। सामाखुसीमै सिकाइ र काम थालेँ,’ उनले भनिन्, ‘तीन महिना काम गरेपछि पाँच सय रूपैयाँ दिए। धेरै देऊ भन्ने अवस्था पनि थिएन। मलाई काम सिक्नु थियो।’ त्यसपछि उनी बसपार्कको गार्मेन्टमा काम गर्न थालिन्। त्यहाँ एउटा ज्याकेट बनाएको एक सय रूपैयाँ दिन्थ्यो। छोरीलाई स्कुल पुर्‍याउनु-ल्याउनु पर्ने भएकाले उनले दिनमा एउटा मात्रै ज्याकेट सिलाउन भ्याउँथिन्। त्यहाँ तीन महिना काम गर्दा उनले पहिलो महिनामा छोरालाई, दोस्रोमा छोरीलाई र तेस्रोमा श्रीमानलाई पनि ज्याकेट बनाइदिइन्। घरखर्च श्रीमानले गर्ने भएकाले आफ्नो कमाइ जोगाइन्। ‘२५ सय जति ज्याकेट बनाएको कटाएर बाँकी पैसा बचत गरेँ,’ उनी सुनाउँछिन्, ‘सबैलाई ज्याकेट बनाउँदा आफूलाई चाहिँ किन नबनाएको होला भनेर अहिले पनि चित्त दुख्छ।’त्यसपछि उनले नेपालटारको बुटिकमा काम थालिन्। त्यहाँ काम गरेअनुसार कमाइ हुन्थ्यो, महिनामा चारदेखि छ हजारसम्म। त्यहाँ पनि तीन महिना काम गरेपछि उनले आफैं टेलर खोल्ने सोचिन्। श्रीमानसँग १५ हजार रूपैयाँ मागिन्, दिएनन्। त्यसपछि आफ्नी दिदीसँग मागिन्। आफूसँग भएको दस हजार र दिदीसँग लिएको पन्ध्र हजार गरी २५ हजार जुटाइन्। मनमैजूमै ३५ सय रूपैयाँको सटर भाडा लिइन् र एउटा मेसिन किनिन्। ७० साल पुसमा शर्मिलाले आफ्नै काम थालिन्। सुरूदेखि नै आम्दानी राम्रो भयो। विस्तारै अरू मेसिन थप्दै गइन्। कपडा व्यापार गर्ने साथीकहाँबाट कपडा ल्याएर बेच्थिन्। पछि पत्रिकामा सिलाइ सिकाउने प्रशिक्षक मागेको विज्ञापन देखिन्। ‘सिटिइभिटीको लाइसेन्स चाहिने रहेछ। सिकेर आउनुस् अनि काम दिउँला भने,’ उनले सुनाइन्, ‘तीन महिना सिकेर लाइसेन्स लिएर गएँ, अनि मलाई सिकाउने काम दिए।’०७१ सालमा बीस वटा मेसिन भाडामा ल्याएर उनले चालीस जना विद्यार्थीलाई तालिम दिइन्। तीन महिना तालिम दिएबापत सरकारले प्रतिव्यक्ति २० हजार रूपैयाँ दिन्छ। ‘तर सिक्नेहरूलाई खाजादेखि सबै सामान आफूले दिनुपर्छ। बेला–बेला सरकारी अनुगमन हुन्छ,’ अहिले आफैं मेसिन किनिसकेकी शर्मिला भन्छिन्, ‘सबै खर्च आफ्नो भए पनि आधाजस्तो नाफा बस्छ।’ त्यो बेलादेखि नै उनले वार्षिक चालीस जनालाई तालिम दिँदै आएकी छन्। अहिलेसम्म उनले धेरै विद्यार्थीलाई सिकाइ सकिन्। त्यसमध्ये ५० प्रतिशतले आफैं टेलर खोलेको उनी बताउँछिन्। आधाले भने घरायसी समस्या र लगानी अभावले नसकेको उनको भनाइ छ। आफूले सिकाएका विद्यार्थीले आफैं टेलर खोल्दा खुसी लाग्ने उनी बताउँछिन्। शर्मिला आफैंले पनि तीन जनालाई जागिर दिएकी छन्। ‘अहिले सुखका दिन आएजस्तो लाग्छ। कमाइ नहुँदा बोल्दै नबोल्ने श्रीमान अचेल घरसल्लाह गर्नुहुन्छ । उनी भन्छिन्, ‘परिवार र समाजमा इज्जत पाउन प्रत्येक महिलाले आफैं काम गरी स्वरोजगार हुनुपर्छ। हामी आफ्नो कमाइमा बाँच्नुपर्छ।’आफूले गरेको संघर्ष सम्झेर पनि होला, आर्थिक स्थिति कमजोर भएका महिलालाई उनी सित्तैमा सिकाइदिने बताउँछिन्। भन्छिन्, ‘मैले जस्तो दुःख अरूले नपाऊन्।’-सेतो पाटी

हाम्रो फेसबुक पेज