चितवन माडीको बाँदरमुढे घटनाः १६ वर्षसम्म पीडा उस्तै


विप्लव काफ्ले चितवन, जेठ २३– बाँदरमुढे घटना भएको १६ वर्ष पुरा भएको छ । तत्कालिन विद्रोही माओवादीले यात्रुबाहक बसलाई निशानामा राखेर गरेको विस्फोट ‘बाँदरमुढे घटना’ का रुपमा चर्चित छ । सो घटनामा ४२ जनाले ज्यान गुमाए भने ७५ जना घाइते भए । घाइते ३ जनाको उपचारका क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमा ३ जना नेपाली सेना पनि थिए । २०६२ जेठ २३ गते चितवन माडीको बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको थियो । घटनामा अघिकाँस माडीकै सर्वसाधरण परेका थिए । १६ वर्ष पुरा भएपनि पीडित परिवार न्यायको पखाईमै छन् । गणेशगञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मिता सहित सोही दुर्घटनामा परेकी थिइन् । दाहिने खुट्टा भाँचिएको, टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । छोरी र श्रीमति घाइते देखेपछि श्रीमान चन्द्रबहादुरले मानसिक सन्तुलनै गुमाए । विष्णुमाया घाइते शरिर भएकाले दैनिक कामकाज गर्न समेत कठिन हुने गरेको बताउँछिन् । “काम गर्न खोज्दा शरिर दुख्छ, कमजोर छु”, उनले प्रश्न गरिन्, “मरेर बाँचेका हामीलाई राज्यले हेर्ने दिन कहिले आउला रु विष्णुमायालाई घरखर्च धान्न समेत धौधौ पर्छ । बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट हैरानी खेप्छिन् । “दिनहुँ पीडा भोगिरहेका छौँ, चुनावका बेला आश्वासन आउँछ”, उनले भनिन्, “पीडकलाई कडा सजायँ हुनुपर्छ, पीडित परिवारलाई राज्यले रेखदेख गर्नुपर्छ ।” उपचारका लागि भरतपुर जान बस चढेको आधा घण्टामै कृष्णनगरकी मनकुमारी क्षेत्री र ४ वर्षे छोरा आशिष सोही घटनामा परी घाइते भए । आशिष ११ मा पढ्छन् । उनको टाउकोमा अझै चोटको गहिरो दाग छ । मनकुमारी कान नसुन्ने बनेकी छन् । ढाड र गर्धनमा दुखाई अझै छ । मनकुमारीका श्रीमान तिलकबहादुरले न्याय पाउने आशा नमरेको बताउँछन् । “सबै दलका सरकार बने, हामीले न्याय पाएनौँ”, उनले भने, “पीडकलाई सजाएँ र पीडित परिवारलाई राम्रो रोजगारीको ग्यारेण्टी हुनुपर्छ ।” छोरा आशिषले सरकारी जागिएर खाएको हेर्ने ठुलो धोको रहेको सुनाए । “आफ्नै खुट्टामा उभिएको देख्न पाएँ हाम्रा लागि त्यही ठुलो राहत हुन्थ्यो”, उनी भन्छन्, “प्रहरीमा पठाएको, टाउकोको दाग देखेपछि फर्काइदिए, रोजगारी पाइएला नी ?” बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारी ‘कृष्ण’ राज्यले न्याय दिनेमा आशावादी रहेको बताउँछन् । “आयोग बनेका छन्, पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्ति घोषणा गरेकै दिन हाम्रो न्यायको लडाई पुरा हुनेछ”, उनले भने, “न्याय माग्दा मगन्ते जस्तो व्यवहार नहोस्, हामीलाई सधै उपेक्षामा नपरौँ ।” सोही घटनामा घाइते कृष्णले ४ वर्ष वैशाखीको सहारामा जीवन गुजारेका थिए । दुबै खुट्टा र ढाड भाँचिएको थियो । “सबै दलका शिर्ष नेताहरुलाई लिखित माग बुझाएकै हो, हुदैन भन्ने कोही थिएनन्”, उनी दुखेसो गर्छन्, “मरणोपरान्त भएपनि न्याय पाइएला भन्ने आशा छ ।” मृतक तथा घाइतेका परिवारलाई राज्यले सहज जीविकोपार्जन, उपचार, रोजगारी लगायतका सुविधा सहितका विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । त्रासदीपूर्ण घटनाको सम्झनामा आज (आइतबार) विहान स्मृति दिवस मनाउदैछन् । स्मारकमा जम्मा भएर मृतकप्रति श्रदाञ्जली सभा गर्दैछन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी क्षेत्र माडीमै बाँदरमुढे पर्छ । प्रचण्डले बाँदरमुढे घटनालाई सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भन्दै सार्वजनिक कार्यक्रममा माफि माग्दै आउने गरेका छन् । उनी घटनास्थलमा रहेको स्मारकमा पहिलो पटक चुनावी मेसोमा २०७४ मंसीर १० गते पुगेर माल्यापर्ण गरेका थिए । प्रतिनिधि सभा सदस्यको उम्मेद्वार हुँदा प्रचण्डले पीडित केही परिवारसँग लिखित ३ बुँदे सहमति गरेका थिए । मतदाता प्रभावित गर्न गरिएको सो सहमति समेत ३ वर्ष पुरा हुदा समेत कार्यान्वयनमा नआउँदा पीडित परिवार निराश छन् । (विप्लव काफ्ले कारोबार दैनिकका चितवन संवाददाता हुन्)
नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज