निर्भीक कलम – Thulo Khabar


कतिपय साहित्यकार सानै उमेरदेखि अझ भनौं बाल्यकालदेखि नै साहित्यमा लागेका हुन्छन् भने कतिपय आफ्नो सक्रिय जीवनको उत्तराद्र्धमा मात्र कलम चलाएर नामी भएका उदाहरण छन् । कतिपय साहित्यकार यौवनकालमा निकै जोश र जाँगरले लागेर नाम उँचो बन्दै गर्दा साहित्यिक सक्रियताबाट विश्राम लिन्छन् र पुनः उत्तरार्द्धमा साहित्यमा फर्केर शिखरमा पुग्छन् ।

नेपाली साहित्यको सन्दर्भमा जगदीश घिमिरेले पनि आफ्नो लेखनको उत्कर्षको वेला एक प्रकारले विश्राम लिए अनि जीवनको उत्तराद्र्धमा पुनः पूर्णरूपेण साहित्यमा समर्पित भए । उनलाई त्यसरी साहित्यमा ल्याउने कारक भने अति कष्टकर ‘मल्टिपल माइलोमा’ क्यान्सर थियो ।

जगदीश घिमिरेले कलम चलाएपछि साहित्य जगतमा सानोतिनो हावाहुरी मात्र होइन एक प्रकारको तुफानै ल्याउन सक्थे । अभिव्यक्तिमा शक्तिशाली स्पष्टता उनको खूबी थियो ।

उनको पहिलो कृति ‘लिलाम’ उपन्यास प्रकाशन हुनेबित्तिकै चर्चित भयो । यस उपन्यासलाई लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ को दोस्रो भाग पनि भनियो । तर जे भए पनि यो उपन्यासलाई पाठक÷अध्येताहरूले मन पराए । उनको दोस्रो उपन्यास ‘साविती’ निकै बोल्ड उपन्यास हो । यो शुरूमा साहित्यिक पत्रिका ‘रचना’ द्वैमासिकमा प्रकाशित भएको थियो । पछि मात्र पुस्तकाकारमा निकालियो ।

‘साविती’ उपन्यास पञ्चायतकालको उत्कर्षमा प्रकाशित हुनु पनि एकप्रकारले साहसिक नै मान्नुपर्ने अवस्था थियो । यसरी साहित्यमा यिनी टड्कारो व्यक्तित्वका रूपमा देखिएका थिए ।

घिमिरेको ‘सन्तान’ नाटक रूपरेखामा प्रकाशित भएको थियो र पछि त्यसैको अफ प्रिन्ट पुस्तकका रूपमा निकालिएको थियो । त्यो नाटक पनि निकै गहकिलो थियो ।

उनले यौटा लघुकथा लेखे, ‘बर्दी’ । त्यो लघुकथा पनि नेपाली लघुकथाहरूमा यौटा जीवन्त र उच्चकोटिको रूपमा लिइनुपर्छ भन्ने लाग्छ मलाई । यद्यपि उनलाई लघुकथाकारको रूपमा कतै चर्चा भएको चाहिं देखेको छैन ।

एकताक म डाइजेष्ट खालको पत्रिका निकाल्ने धुनमा थिएँ । त्यसका लागि उनको बर्दी कथा रोजें, रचना परिक्रमा स्तम्भका लागि । त्यसको विषयमा उनको विचार लेख्न अनुरोध गरें, उनले त्यो पनि दिए । डा. दयाराम श्रेष्ठलाई सो लघुकथाको विषयमा आलोचनात्मक लेखका लागि अनुरोध गरें । उहाँले पनि छोटो समालोचना लेखेर दिनुभयो । तर पत्रिका निस्केन, ती सामग्री भने अझै मेरो फाइलमा छन् । त्यो लघुकथा नेपाली साहित्यको विशिष्ट लघुकथा ठान्दछु म ।

जगदीश घिमिरेले कलम चलाएपछि साहित्य जगतमा सानोतिनो हावाहुरी मात्र होइन एक प्रकारको तुफानै ल्याउन सक्थे । अभिव्यक्तिमा शक्तिशाली स्पष्टता उनको खूबी थियो ।

‘रूपरेखा’ को २००औं अङ्क निकै मोटो र भव्य विशेषाङ्कको रूपमा प्रकाशित भएको थियो । त्यसमा यिनको यौटा लेख प्रकाशित भएको थियो– ‘को बौद्धिक ?’

त्यो लेखले नेपाली बौद्धिक जगतमा हलचल नै मच्चाइदिएको थियो, त्यतिबेला ।

उनी किशोर नेपालसँग पनि लेखनमा निकट थिए । किशोर नेपाल भारतीय मिडियासँग नजिक थिए । दिनमान पत्रिकासँग उनको निकटता थियो । भारतीय साहित्यकारहरूसँग पनि उनको मित्रता थियो । त्यसैको फलस्वरूप भारतको प्रतिष्ठित राजकमल प्रकाशनले नेपाली कविहरूको अनुवाद सङ्कलन प्रकाशित गर्ने भयो । त्यसमा जगदीश घिमिरे पनि संलग्न भए, अनुवादकको रूपमा । सन् १९८२ मा प्रकाशित ‘नेपाली कविताएँ’ त्यही योजनाको मूर्त रूप थियो । सो पुस्तकको प्रधानसम्पादक भारतीय कवि सर्वेश्वर दयाल सक्सेना र सम्पादकद्वय किशोर नेपाल र जगदीश घिमिरे रहेका थिए ।

यस्ता जोडदार साहित्यकार अचानक साहित्य जगतबाट लामो समय हराए । उनले जागिरको कारण साहित्यमा सक्रिय नभएको बताउँथे । होला पनि । साहित्यले रोजीरोटी हुने त यसै पनि थिएन ।

हुन त उनले बीचबीचमा धमाका नमच्चाएका हैनन् । उनले एकपल्ट यौटा कविता लेखे, ‘गु’ । यो विषयमा त्यसअघि यस प्रकारको कविता नेपाली भाषा साहित्यमा देखापरेको थिएन । कविता बेजोडको थियो । हिट भयो । साहित्य र साहित्यकारहरूको वृत्तमा त्यस कविताले बजार लियो । कति पत्रिकाले साभार गरेर प्रकाशन गरे । उनले धेरै ठाउँमा वाचन गरे । उनलाई सो कविता वाचनका लागि निम्तो दिनेको एक प्रकारको लहर नै चल्यो । त्यस कविताको पोष्टर बनाएर समेत प्रदर्शन गरियो ।

जब उनी लेख्थे, दह्रो लेख्थे, शक्तिशाली लेख्थे । ‘गु’ कविता पनि त्यसैको दृष्टान्त थियो ।

भाष्करराज राजकर्णिकार नेपाल टेलिभिजनमा लोकप्रिय कार्यक्रम सञ्चालन गर्थे । त्यो कार्यक्रम राष्ट्रिय सभागृह जस्तो ठाउँमा सार्वजनिक रूपमा सञ्चालन गरेर रेकर्ड गरिन्थ्यो र पछि सम्पादन गरेर रेकर्डेड रूपमा प्रस्तुत गरिन्थ्यो । एकपल्ट जगदीश घिमिरेलाई पनि सो कार्यक्रममा निम्त्याइएको थियो । त्यस कार्यक्रममा उनले खुलस्त रूपमा सामान्य रूपमा नभनिने, भन्न हिच्किचाउने कुरा यति मजाले तार्किक रूपमा बोले कि पछिपछिका कार्यक्रममा अरूले समेत उनको सिको गरेका थिए । तर जगदीश घिमिरेमा त्यो जुन अद्भुत गुण थियो, ती सिको गरेमा के हुन्थ्यो र !

मैले उनीसँग ‘ज्योतिश्री’ नामक पत्रिकाको लागि लिखित अन्तर्वार्ता लिएको थिएँ, उनले जवाफ दिएका थिए र प्रकाशित भएको थियो । उनी आफैं पनि साहित्यिक अन्तर्वार्ता लिन रुचाउँथे । उनले भूपि शेरचन र हरिभक्त कटुवालसँग अन्तर्वार्ता लिएका थिए । उनी पछि राजनीतिक टिप्पणीकारको रूपमा कान्तिपुरको नेपाल म्यागाजिनमा लेख्न थाले । साहित्यिक व्यक्तित्व हुनाले उनको लेखाइको शैलीमा मात्र होइन विषयमा पनि साहित्य घुसिहाल्थ्यो र बढी पठनीय हुन्थ्यो ।

उनले एकपल्ट मसँग भनेका थिए, ‘म साहित्यभन्दा पनि महत्वपूर्ण काममा लागेको छु, रामेछापमा । यसको फल आएपछि पुस्तौंसम्म काम गर्छ ।’

मैले त्यो बुझेको थिइनँ । तर पछि थाहा भो, त्यो उनले साँच्चिकै उदाहरणीय काम गरेका रहेछन् ।

जब एक्कासी उनलाई मल्टिपल माइलोमा क्यान्सर भयो, यो कुनै पनि मान्छेको जीवनमा जाने डरलाग्दो भुईंचालो थियो । तर आर्थिक रूपमा सक्षम भएकाले अरू साहित्यकारलाई जस्तो चन्दा–दानको उनलाई आवश्यक थिएन । तर रोग जटिल र निको नहुने थियो । त्यसपछिको समयलाई उनले साहित्यमा विस्तारै लगाए । अशेष मल्लले युनिकोडमा नेपाली टाइप गर्न सिकाएपछि उनले युनिकोडमा टाइप गरेर कम्प्युटरमा लेख्न थाले । उनले ‘अन्तरमनको यात्रा’ पूरै युनिकोडमा लेखेका हुन् । त्यो कृति उनले जीवनको कठिनतम बेलामा लेखेको उच्चतम महत्वको कृति बन्यो ।

यो पुस्तक प्रकाशित हुनेवित्तिकै नेपाली साहित्यिक जगतमा चासोको विषय भयो । त्यसमा राजनीतिक प्रसङ्ग पनि निकै छन्, त्यसैले राजनीतिक जगतमा पनि यसले राम्रो व्याप्ति पायो । यसले त्यस सालको ‘उत्तम शान्ति पुरस्कार’ प्राप्त गर्‍यो । त्यसले चर्चा र चासो झन् बढ्यो ।

अन्ततः मदन पुरस्कार पनि पायो । यसले अर्को शिखर प्राप्त गर्‍यो प्रतिष्ठा र चर्चा दुवैको । शक्तिशाली लेखनका कारण एवं सबैको चासो र रुचिको विषयवस्तु भएकाले गैर साहित्यिक क्षेत्रमा पनि यो पुस्तकले व्याप्ति पायो । उनको साहित्य जगतमा एक प्रकारको जबरजस्त पुनरागमन थियो यो । यद्यपि उनी साहित्यबाट पूरै विमुख भने थिएनन् ।

‘अन्तरमनको यात्रा’ प्रकाशनपछि जगदीश घिमिरे साहित्य जगतमा पूर्ण रूपेण समर्पित भए । उनको लागि साहित्य रोगको उपचारको साथमा थेरापी सावित भयो । उनी तङ्ग्रिन थालेपछि सजग भएर इन्फेक्सनबाट जोगिन मास्क लगाएर सभा–समारोहमा देखा पर्न थाले ।

२०६८ सालको साउन २७ गते अनामनगरमा जनकपुरका कथाकार राजेन्द्र विमलको कथा संग्रह ‘समयको आँखा’ को विमोचन समारोहको आयोजना गरिएको थियो । उनी त्यस कार्यक्रमका मुख्य वक्ताको रूपमा उपस्थित थिए । त्यो समारोह संयोगवश म काठमाडौं भएको वेला परेकाले मैले पनि सामेल हुने अवसर पाएको थिएँ । उनले जनकपुरको प्रसङ्गलाई जोड्दै, नेपाली कथा साहित्यको पृष्ठभूमिको चर्चा गर्दै राजेन्द्र विमलका कथाको विशेषताको बारेमा सटिक टिप्पणी गरेका थिए ।

उनले मन्थलीमा साहित्यकारहरूको टोली लगेर साहित्यिक कार्यक्रम सञ्चालनको पनि थालनी गरेका थिए । त्यसबाट साहित्यकारहरूले उनको जन्मथलो देख्न पाउँथे, पहाडी क्षेत्रको देशदर्शन गर्न पाउँथे, मन्थलीमा उनले थालनी गरेको कामको समेत जानकारी पाउँथे । यसबाट एकैसाथ धेरै काम सम्पन्न हुन्थ्यो ।

उनले साहित्यमै रमाउने, साहित्यिक चर्चा परिचर्चामा व्यस्त हुने, लेखनलाई निरन्तर र उर्वर रूपमा अघि बढाउने काममा दत्तचित्त हुने काम गरे । बीचबीचमा उपचारको सिलसिला चल्दा र त्यसको कडा असरले सक्रिय हुन नमिल्ने अवस्थामा वाहेक उनी साहित्यमा डुबे, पौडिए र रमाए । निको नहुने रोगको पीडा अवश्य हुँदो हो, तर यी साहित्यिक गतिविधिमा व्यस्त राख्दा उनलाई सन्तुष्टि मिलेको, खुशी भएको देख्न सकिन्थ्यो ।

यसैबीच अर्को कृति लेखनमा उनी होमिए; त्यो थियो उपन्यास, ‘सकस’ ।

यो पनि लेखिसक्ने बित्तिकै प्रकाशित भयो र उनी पुनः चर्चाको केन्द्रमा देखिए । ‘अन्तरमनको यात्रा’ को चर्चा र चासो नसेलाउँदै यो कृति आएको थियो । यस बीचमा उनका पूर्वप्रकाशित कृतिहरू लिलाम, साविती, सन्तान जस्ता कृतिहरूको पुनर्मुद्रण भयो र ती कृतिहरूले पनि पाठकको ध्यान खिच्न सफल भए ।

उनले छानिएका कविताहरूको संग्रह ‘रोजा कविताहरू’ पनि प्रकाशन गरे । उनको यसअघि कविताहरूको छुट्टै संग्रह प्रकाशन भएको थिएन । ‘केही कथा, कविता र निबन्ध’ मा केही कविता संगृहीत थिए, बाँकी फुटकर रूपमै रहेका थिए । उनका कथाहरूको पनि संग्रह प्रकाशित भएको थिएन, ‘केही कथा, कविता र निबन्ध’ मा केही सङ्कलित हुनु बाहेक । उनले ‘बर्दी’ शीर्षकमा रोजा कथाहरूको संग्रह प्रकाशन गरे ।

उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय भए । उनको ‘बर्दी’ कथाको विषयमा यौटा पाठकले राखेको जिज्ञासामा उनले फेसबुकको ‘उपन्यास कुनो’ मा यस्तो अभिव्यक्ति दिएका थिए ः

मेरो ‘बर्दी’ कथालाई यसो भन्दा म यसबारेको यौटा संस्मरण बताउँछु ।

यो कथा मैले त्यस ताका लेखेको हुँ जुन ताका मलाई कतिले खुशीभावले र कतिले दुखीभावले ‘जगदीशले त लेख्न छोड्यो !’ भन्थे ।

बर्दी कथा भर्खर छापिएको थियो । मनु ब्राजाकी र शिव रेग्मी लगायत मित्रहरूले स्याबासी दिएका थिए । पंचायतको जवानीमा यत्तिको लेख्नु र छाप्नु सानो विद्रोह र खतरा थिएन ।

केदारमान व्यथित, ईश्वर बराल, मदनमणि दीक्षित, नगेन्द्रराज शर्मा, रोचक घिमिरे लगायत अरू केही मित्रलाई साँझको भोजनको लागि मैले घरमा बोलाएको थिएँ । रोचक र नगेन्द्रले भर्खर छापिएका ‘रचना’ र ‘अभिव्यक्ति’ का प्रतिहरू बाँडे, जुन उनीहरूको पहिचान हो । रचनामा त्यो कथा थियो । कसैले ‘बर्दी’ सर्सरी पढेर ‘कति छोटो र कति राम्रो’ भन्ने टिप्पणी गर्‍यौं । मलाई पढेर सुनाउ भने । त्यो सुन्ने–सुनाउने होइन खानपिनको आयोजना थियो तापनि पढेर सुनाएँ ।

सबले आ–आफ्ना किसिमका टिप्पणी गरे । तर सबभन्दा मार्मिक टिप्पणी थियो कविवर व्यथितको । उहाँले भन्नुभो– ‘जगदीशजी, तपाईंलाई रेपको अनुभव रै’नछ ।’

उनको निवास चोभारको उकालोमा थियो । त्यो निवास साहित्यिक तीर्थस्थल जस्तै भयो । देशका विभिन्न स्थानबाट उनलाई भेट्न आउँथे साहित्यकार, प्रशंसक, शुभचिन्तकहरू । पत्रकारहरू अन्तर्वार्ताको लागि पुग्थे । उनी पनि विभिन्न टेलिभिजन अन्तर्वार्ताको लागि स्टुडियो पुग्न समेत भ्याउँथे । उनको सक्रियताले उनी मल्टिपल माइलोमा जस्तो असाध्य रोगले ग्रसित छन् भन्ने लाग्दैनथ्यो कतिलाई ।

एकपल्ट कवितारामले मसँग प्रस्ताव राखे, ‘कृष्णचन्द्र सिंह प्रधानलाई अमेरिका घुमाउन मन छ, एउटा कार्यक्रम मिलाउँ न !’ म त्यतिखेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिंटन डिसी, मेरिल्याण्ड र भर्जिनियाको च्याप्टर अध्यक्ष थिएँ । त्यसका लागि मैले च्याप्टरको तर्फबाट कृष्णचन्द्र सिंह प्रधानलाई अग्रजको तर्फबाट र युवाहरूको तर्फबाट गोबर्धन पूजालाई सम्मान गर्ने विषयमा बैठकमा प्रस्ताव गरें र पारित भयो ।

निम्तो पठाइयो तर दूतावासले भिसा दिन इन्कार गर्‍यो । अनि च्याप्टरको तर्फबाट गरिने भनिएको सम्मान काठमाडौंमै गर्ने निर्णय गरियो म नेपाल गएको अवसर पारेर । २०६५ साल असोज ५ गते कार्यक्रम तय भयो कुपण्डोलको यौटा हलमा । तर दुर्भाग्य, त्यसै दिन काठमाडौं बन्दको आयोजना भयो अन्तिम बेलामा । कार्यक्रम गर्ने नगर्ने दोधार भयो । निम्ता गरिसकिएको थियो । कतिले बन्द फिर्ता भएको पनि भने । तर स्पष्ट भएन । तर अलिअलि सवारी साधन चलेको छ, गरौं भन्ने भो ।

कार्यक्रम आयोजना गरियो र सो कार्यक्रममा चोभारदेखि त्यस्तो बन्दको हल्लाबीच पनि जगदीश घिमिरे आए र पूरै कार्यक्रमभरि बसे । कार्यक्रम लामो नगर्ने भनेर वक्ताहरू खासै राखिएको थिएन, उनी एक निम्तालुको हैसियतमै रमाए । यसरी उनी साहित्यिक निम्तोहरूलाई सहृदयतापूर्वक स्वीकार गर्दथे ।

कतिपय लेखकहरू उनीबाट आफ्नो कृतिका लागि भूमिका लेखाउन पनि चाहन्थे, र उनी खुशीसाथ त्यो आग्रहलाई पनि स्वीकार्थे । प्रख्यात गीतकार राजेन्द्र थापाले एक घटनाले प्रेरित भएर ‘खेलौना’ नामक उपन्यास लेखे । त्यो उपन्यासको भूमिकाका लागि उनले जगदीश घिमिरेलाई रोजे । जगदीश घिमिरेले खुशीसाथ लेखिदिए । तर वामपन्थी लेखक खगेन्द्र संग्रौला भने ‘खेलौना’ उपन्यासका लेखक, भूमिका लेखक सबैमा खनिए । यो उपन्यासमा सेक्स थियो । यसलाई पोर्नोग्राफीको दर्जामा राखिदिए । नागरिक दैनिकमा जुहारी चल्यो । तर जगदीश घिमिरे आफूले लेखेको विषयमा पूरै जिम्मेवारी लिन चाहन्थे र लिए पनि । उनले जमेर खगेन्द्रलाई फट्कारे ः

खगेन्द्र संग्रौलाको लेख ‘मृतलेखकको कथन’ पढ्दा उनी त्यस्तै मुर्कुट्टा हुन् भन्ने कुरामा मलाई कुनै द्विविधा भएन । उनी आफ्नो टाउको आफ्नै खुशीले काटेर मुर्कुट्टो भएपछि उपन्यासकार राजेन्द्र थापा, भूमिका लेखक जगदीश घिमिरे, लोकार्पण गर्ने बैरागी काइँला र त्यस प्रसंगसँग कुनै चासो नभएका अभि सुवेदी र गोविन्द भट्टराई समेतलाई मुछ्दै प्रशन्नतापूर्वक यौटा सिंगो पानाभरि मुर्कुट्टाको नाङ्गो नाच नाचेका छन् ।

संसारमा पोर्नोग्राफी पनि हुन्छ । पोर्न साहित्य पनि हुन्छ । पोर्नोग्राफी व्याप्त पश्चिमा जगतको कुरा छाडौं, संस्कृत साहित्यका महान ग्रन्थहरू— रघुवंश, कुमारसंभव, गीत गोविन्द, शृंगार शतक आदिमा पनि पोर्न साहित्यको प्रचुरता छ । संसारमा पोर्नस्टारलाई जनताले चुनेर सांसद बनाएका पनि उदाहरण छन् । साहित्य आकाश हो जहाँ सबै चरालाई उड्ने अधिकार छ ।

उनको जीवनको अन्तिमकालतिरको लेखनगत घम्साघम्सी थियो, खगेन्द्र संग्रौलासँग । उनी निःसन्देह क्रूद्ध नै भएका थिए । उनी आफैं साहित्यमा राजेन्द्र थापाको खेलौनामा जस्तो यौन प्रयोग गर्न रुचाउने लेखक थिएनन् तर उनी लेखकीय स्वतन्त्रतामा विश्वास गर्थे ।

उनमा साहित्य र नेपाली वाङ्मयको राम्रो ज्ञान थियो, जसले उनलाई तर्क र बहसमा मजाले उत्रन सक्ने बनाएको थियो ।

२००२ साल चैत २८ गते रामेछापको मन्थलीमा जन्मेका घिमिरेको ६८ वर्षको उमेरमा २०७० साल कात्तिक १४ गते काठमाडौंमा निधन भयो ।

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार

हाम्रो फेसबुक पेज