कोरोनाको तेस्रो वेभबाट बालबालिकालाई बचाउन चितवन मेडिकल कलेजको विशेष तालिम भोलिबाट


चितवन, जेठ २२- कोरोनाको सम्भावित तेस्रो वेभबाट बालबालिकालाई बचाउन चितवन मेडिकल कलेजले तयारी थालेको छ । मेडिकल कलेजले सम्भावित तेस्रो वेभबाट बालबालिका बढी प्रभावित देखिने सम्भावना रहेको भन्दै भोलिबाट एक हप्ते क्रिटिकल केयरसम्बन्धी तालिम सुरु गर्न लागेको हो । कलेजका प्रवन्ध निर्देशक प्राध्यापक डा.हरिश्चन्द्र न्यौपानेले क्रिटिकल केयरसम्बन्धी हुने तालिमबारे सामाजिक सञ्जालबाट जानकारी गराउँदै भनेका छन्, ‘ अहिलेसम्म विदेशतिरको कुरा सुन्दा र स्वास्थ्य मन्त्रालयको सूचना अनुसार पनि अब दुई चार महिनामा कोभिडको तेश्रो वेभ आउन सक्ने देखिएको छ । यो पटक बच्चाहरुलाइ असर पार्ने संभावना देखिएकोले मेडिकल कलेजमा काम गर्ने स्वास्थ्यकर्मीलाई क्रिटिकल केयरसम्बन्धी तालिम दिँदै छौं ।’ भोलिबाट सुरु हुने तालिम २८ गतेसम्म चल्ने न्यौपानेले बताएका छन् । पूर्णतया बालबालिकाको विशेष उपचारमा केन्द्रित हुने तालिममा नेपालसहित भारत र बेलायतका बिज्ञहरुले प्रशिक्षण दिनेछन् । क्रिटिकल केयरसम्बन्धी अनलाइनबाट हुने तालिमका प्रशिक्षकहरुमा कान्ति बाल अस्पतालका वरिष्ठ कन्सल्टेन्ट सुमित अग्रवाल, चितवन मेडिकल कलेजका डा विराज पराजुली, भारतका डा पुष्पराज अवस्थी छन् भने बेलायतका एलएन रेड्डी र डा बाबु बेन्जामिन छन् । त्यसैगरी अन्य नेपाली विज्ञहरुमा डा पूजा अमात्य, नर्सिङ इन्चार्ज रेनुका न्यौपाने, डा धर्मागत भट्टराई रहेका छन् । यो सँगै चितवन मेडिकल कलेजले कोरोनाको तेस्रो वेभमा बालबालिका बढी प्रभावित हुने भन्दै १७ सैयाको बालबालिकाका लागि आईसीयू पनि निर्माण गरिसकेको जनाएको छ ।
नारायणीअनलाइनबाट साभार

हाम्रो फेसबुक पेज