नेपाल युवा उद्यमी मञ्च बीरगंज च्याप्टरको स्टार्टअप छलफल, स्टार्टअपलाई व्यवहारिक बनाउन विज्ञहरुको सुझाब


नेपाल युवा उद्यमी मञ्च बीरगंज च्याप्टरले स्टार्टअपको बारेमा आज सरोकारबालाहरुसँग छलफल गरेको छ । मन्चले स्टार्टअप एण्ड इन्नोभेसन विषयक कार्यक्रममा नेपालमा कसरी स्टार्टअपहरुमा काम गर्न सकिन्छ र कस्ता प्रकारका उद्यमहरु वा व्यवसायलाई स्टार्टअपको रुपमा अगाडि बढाउन सकिन्छ भन्ने बारेमा विज्ञहरु सहितलाई राखेर छलफल गराएको छ । कार्यक्रममा भारतका सनबर्डस्ट्रका विकासकर्ता प्रोफेसर साजी भर्गिज र उनको सँग उनले भारतमा नरिवलको स्ट्र कसरी विकास गरे र त्यसलाई कसरी व्यवसायीक बनाए भनेर अनुभव बाँडेका थिए । प्रोफेसर साजी भर्गिजले स्टार्टअपलाई व्यवहारिकरुपमा उतार्न सकिने किसिमको हुनुपर्ने र वित्तीयरुपमा पनि उपयोगी हुनुपर्ने अनुभव बाँडेका थिए । उनले स्टार्टअपबाट रकम कमाउने भन्नेमा ध्यान दिनुभन्दा पनि त्यसलाई कसरी सहिरुपमा विकास गर्ने र क्षमता बढाउने बारेमा ध्यानदिनुपर्ने बताएका थिए । त्यसैगरि नेपाल उद्योग बाणिज्य महासंघका स्टार्टअप कमिटीका संयोजक रंजित आचार्यले नेपालमा अझैपनि स्टार्टअपको परिभाषा र ब्याख्या सरकारले गर्न नसकेको भन्दै त्यसमा महासंघले काम गरिरहेको जानकारी दिए । ‘१०० वटा मध्ये ९० वटा आईडियाहरु र स्टार्टअपहरु असफल हुन्छन र केबल १० प्रतिशत मात्र अगाडि आउँछ । उद्यमीले जहिल्यैपनि उपभोक्ताको आवश्यकतालाई ध्यान दिएर बजारमा देखिएको ‘ग्याप’लाई पूर्ति गर्ने प्रयास गर्नुपर्छ,’ आचार्यले भने । उनले असफल हुँदैमा डराउन नहुने भन्दै त्यसबाट नै सिक्ने प्रयास गर्न सुझाब दिएका थिए । कार्यक्रममा महासंघका प्रदेश नम्बर २ का सभापति गणेश लाठले स्थानीय तहमा खेर जाने सामाग्रीहरुको सदुपयोग गरेर वातावरण प्रदुषण कम गर्न र नयाँ उत्पादन बजारमा लान सकिने बताए । ‘हाम्रो बारा पर्सामा पनि कयौं बायोग्रेडेबल सामाग्रीहरु खेर गईरहेका छन्। त्यसलाई समेत प्रयोग गरेर सामाग्री उत्पादन गर्न सकिन्छ,’ उनले कार्यक्रममा भने । सो कार्यक्रममा नेपालमा स्टार्टअप व्यवसाय गर्न कस्ता किसिमका सुबिधाहरु छन् । कसरी स्टार्टअप व्यवसायलाई सफल बनाउने लगायतका विषयमा छलफल भएको थियो । प्रकाशित: २२ जेष्ठ २०७८, शनिबार
technologykhabarबाट साभार

हाम्रो फेसबुक पेज