मानसिक सन्तुलन गुमाएका व्यक्ति ४ वर्षदेखि साङ्लोमा – Thulo Khabar


२२ जेठ, वीरगञ्ज । खपडाले छाएको सानो घर, हेर्दा गाईबस्तु बाँध्ने गोठ जस्तै लाग्छ । तर त्यहाँ भित्र खाँबोमा एक जना पुरुषलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । उनको शरीरमा एकसरो कपडा पनि छैन ।

यसरी किन बाँधेर राखेको ? परिवारका सदस्य भन्छन्, ‘रहर हैन हाम्रो बाध्यता हो । उनलाई बाँधेर राखेन भने भाग्छन् ।’

यो कारुणिक दृश्य बाराको कलैया उपमहानगरपालिका-१८ मोतिसरको हो । त्यहाँ एक मानसिक सन्तुलन गुमाएका पुरुषलाई ४ वर्षदेखि साङ्लोले बाँधेर राखिएको छ । उनी हुन् जगेश्वर ठाकुर । १२ वर्षअघिसम्म ठाकुर नाम चलेका मिस्त्री थिए । काठको काममा उनको सीपको चर्चा गाउँभरी थियो । उनको कलाकारिता देखेर गाउँका मानिसहरु अचम्ममा पर्थे ।

तर अचेल मानसिक सन्तुलन ठीक नभएको व्यवहार देखाउँछन् । उनी मानिसलाई देख्दा गाली गर्ने मात्रै हैन, एक्लै पनि कराइरहन्छन् । स्थानीयका अनुसार उनी राति पनि नसुती गाली गर्ने, कराउने र गीत गाउने गर्छन् । परिवारका सदस्यले लगेर दिएको खाना कहिले खान्छन्, कहिले रिसाएर घोप्ट्याइदिन्छन् ।

ठाकुरको मानसिक स्वास्थ्य अवस्था विग्रन थालेको झण्डै १२ बित्यो । १२ वर्षमा त खोलो पनि र्फकन्छ भनिन्छ । तर जगेश्वर ठाकुरको श्रीमति सुदामा देवीको परिवारमा खुशी फर्किएको छैन । ठाकुर दम्पतीका ४ वटा छोरी र दुई वटा छोरा गरी ६ जना सन्तान पनि छन् । ४ वटा छोरीको विवाह भइसकेको छ । २ वटा छोरा साथमा छन् । त्यसमध्ये पनि एउटा छोरा बोल्न सक्दैनन् ।

जागेश्वरको उपचार गराउँदा गराउँदै ७ कठ्ठा जमीन र गरगहना बेचिसकेको उनकी श्रीमती सुदामा देवी सुनाउँछिन् । ‘वीरगञ्ज, भरतपुर, काठमाडौं, भारत लगायतका ठाउँमा लगेर उपचार गर्यौं, ७ कठ्ठा खेत बिक्री भइसकेको छ । गर गहना थियो सबै बेचेर उपचारमा लगाएँ । एक ठाउँमा घडेरी र बसेको घर मात्रै बाँकी छ,’ उनी भन्छिन् ।

उनले पतिलाई बाँधेर राख्नुपर्नाको कारण सुनाइन्, ‘चौकी तथा खाटको तल गएर लुक्ने अनि ढोका बन्द गरेर ४/५ दिन त्यसै बस्थे । औषधी खाँदासम्म ठिक हुन्थे, औषधी खान छोडेपछि भागी हाल्थे । तोडफोड गरेर बाहिर निकाल्नुपर्थ्यो । त्यसैले पकडेर बाँधेर रोखेका छौं ।’

कमाएर खुवाउने श्रीमानको स्वास्थ्यमा सुधार नभएपछि सुदामादेवीले गाउँघरमा ज्याला मजदुरी गरेर छोरा छोरी हुर्काउनुको साथै आफ्नो जीवनयापन गर्दै आएकी छन् । श्रीमानको उपचारमा कतैबाट सहयोग भए जीवनमा सुुखका दिन आउने आशमा छिन् उनी ।

जागेश्वरकी आमा चनमतिलाई बुढेसकालमा छोराको यस्तो अवस्था देखेर दिक्क लाग्छ । ‘पहिला तगडा थियो, ऊ जस्तो मिस्त्री वरपरको गाउँमा समेत कोहि थिएन,’ उनले भनिन्, ‘अहिले त्यही छोरालाई सिक्रीले बाँधेर राख्नु परेको छ । खोलिदियो भने भाग्छ । छोराको स्थिति देखेर दुःख लाग्छ । गर्न केहि सक्दिनँ ।’

सामाजिक अभियन्ता प्रकाश थारु जगेश्वरको अवस्थाबारे जानकारी पाएपछि उपचारको प्रबन्ध गराउन लागि परेको बताउँछन् । ‘केही पहिला नै जानकारी पाएको थिएँ, जान भ्याएको थिइनँ । शुक्रबार बिहान हेर्न गएको स्थिति देखेर आँसु थाम्न सकिनँ,’ उनले भने, ‘त्यसपछि मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोइतलाई अवस्थाबारे बताएँ । उहाँले लेखिदिएको औषधी र केही दिनका लागि पुग्ने दाल, दाल चामललगायतको खाद्यान्न दिएर आएको छु ।’

स्थानीय सरकारले गरीब असहाय परिवारको उपचारमा सहयोग गर्नतर्फ ध्यान नदिनु दुःखद भएको उनको भनाइ छ । ‘जनप्रतिनिधिले सडक नाला बनाउने, धर्मशाला बनाउने कार्यलाई मात्रै विकासको रुपमा देखेका छन्,’ उनले भने, ‘गरीब, विपन्न परिवारको उपचारमा पनि सहयोग गर्न सक्छन् नी ।’

window.fbAsyncInit = function () { FB.init({ appId: '280041239029772', xfbml: true, version: 'v2.7' }); }; (function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) { return; } js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));
अनलाइनखबरबाट साभार

हाम्रो फेसबुक पेज