विरोधीले नेकपा फुट्छ र भविष्य हाम्रो हुन्छ भन्ने नठाने हुन्छः अध्यक्ष प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फट्छ भन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

 

आइतबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी तत्वहरुले नेकपा फट्ने सपना देख्नु बेकार भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टी पदका लागि भन्दा पनि जनता र राष्ट्रको सेवामा तल्लिन रहेको बताएका छन् ।

 

‘हामी कम्युनिष्ट हुनुको नाताले हाम्रा कुराहरु इमान्दार र पारदर्शी तरिकाले बहस गर्छौं । विरोधीहरुलाई लाग्न कि यो पार्टी फुट्छ र छियाछिया हुन्छ, चकनाचुर हुन्छ र कसैले पनि भविष्य हाम्रो हुन्छ भन्ने नठाने हुन्छ । पद होइन जनता, राष्ट्रको सेवा मुख्य कुरा हो’, उनले भने, ‘मैले संविधान निर्माण, स्थानीय तहको निर्वाचन र पार्टी एकताताका पद हाम्रो विषय होइन स्थिरता र राष्ट्रलाई निकास दिने ऐतिहासिक जिम्मेवारी हो भनेको थिएँ । पद दिएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो ।’

 

उनले थपे, ‘अस्थिरता झल्किने कुनै पनि काम नहोस् भन्नका निम्ति आफ्नो तर्फबाट सेक्रिफाइस गर्दै आएका नेताहरु छौं । त्यसकारण पद प्राप्तिका निम्ति झिनाझम्टी होइन । यो कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी हामीले स्पष्ट गर्ने, इस्यूहरुमा हामी कसरी जाने र विचार र विधिको पालना कसरी गराउने भन्ने विषयमा केन्द्रित भएर नै हाम्रा बहसहरु चलिरहेका छन् ।’

 

अध्यक्ष प्रचण्डले अहिले नेकपाभित्र भइरहेको बहस पार्टी एकताको रक्षाका लागि भइरहेको बताए । उनले पार्टी एकता असाधारण तरिकाले भएकाले जनताको भरोसा कसरी कायम राख्नमा आफूहरु चिन्तित भएको बताए ।

 

‘पार्टी एकताको रक्षा कसरी गर्ने ? किनभने पार्टी एकता जनताको भरोसा र ठूलो उत्सवका साथ असाधारण काम नै गरेको हो । यो असाधारण काम र जनताको भरोसालाई कसरी कायम राख्ने भन्ने विषयमा यति बेला हाम्रो चिन्ता हो’, उनले भने, ‘कम्युनिष्टहरुले पदका नीम्ति झिनाझिम्टी गरेका भन्ने प्रतिक्रियावादी तत्वहरुको विश्वास नगर्न अपिल गर्दछु । हामी पार्टी एकतालाई कसरी अगाडि बढाउने ? विचार र विधि तथा पद्धतिमा कसरी लैजाने भन्ने विषयमा केन्द्रीत भएर हामीले संघर्ष गरेका छौं ।’

 

अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुले जालझेल र चिल्ला कुरा नजानेको बताउँदै अहिले नेकपाभित्र भइरहेको बहसले पार्टीलाई अझै उचाईमा पुर्याउने बताएका छन् ।

 

‘हामी (कम्युनिष्ट) जालझेल गर्ने चिल्ला शब्द प्रयोग गर्ने ढाँटछल गर्ने यो तरिका हामी अपनाउन सक्दैनौं । त्यसकारण हामी भित्रको संघर्ष अलिक तिखो हुन्छ’, उनले भने, ‘कम्युनिष्ट पार्टीभित्र जनताका मुक्तीको सवाल भएकाले हाम्रो संर्घष अलिक तिखो देखिन्छ । यो बहसले पार्टी एकतालाई अझ माथि लानेछ । पार्टीलाई टुटाउने फुटाउने प्रवृतिलाई परास्त गर्नुपर्छ । इतिहासका तिता मिठा अनुभवहरुबाट शिक्षा लिएर पार्टी एकतालाई सुद्धृढ गर्ने गरी र जनताका चाहनाअनुसार शुसाशन र विकासलाई छिन्न सक्ने गरी पार्टीलाई अझैमाथि एकताबद्ध गर्न जरुरी छ । ’

Share on:

ताजा समाचार पढ्नुहोस