गोठाला जीवन : कुकुरको सुरक्षाकै भरमा घना जङ्गलमा गोठको बास

वरिपरि जङ्गलले घेरिएको बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ ।

यो म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको पुतलीडाँडा नजिकको भेडीगोठको दृश्य हो । बस्तीदेखि एक दिनको यात्रापछि पुगिने यहाँको भेडीगोठको सुरक्षाको सम्पूर्ण जिम्मेवारी गोठमा रहेका पाँच वटा भोटे जातका कुकुरको रहेको भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताए ।

करिब ४०० भेडाबाख्रा रहेको छन्त्यालको गोठमा दुई जना हेरालु छन् तर उनीहरुको जिम्मेवारी भेडाबाख्रालाई चरण क्षेत्रमा लगाउने र गोठको सामान ओसार पोसार गर्ने मात्रै हो । गोठमा रहेका भेडाबाख्रालाई जङ्गली जनावरबाट बचाउने र गोठका हेरालुहरुको समेत सुरक्षाको प्रमुख जिम्मेवारी गोठमा रहेका कुकुरहरुकै रहेको भेडापालक कृषक छन्त्याल बताउँछन् ।

गोठमा १५ देखि ६० हजारसम्ममा छन्त्यालले कुकुर खरिद गरी गोठमा पालेका छन् । चरणक्षेत्रदेखि रातमा सिङ्गो गोठको सुरक्षाका लागि कुकुर नै पहिलो रक्षकको रूपमा रहेको छन्त्याललको अनुभव छ । गत वर्ष रोगका कारण गोठमा कुकुर मरेपछि आफ्नो गोठमा १५ दिनको अवधिमा बाघ र चितुवाले १५ वटा र स्यालले ५ वटा भेडाबाख्रा मारेको छन्त्यालले जानकारी दिए । “कुकुर भएको समयमा अहिलेसम्म गोठमै बाघ र चितुवा आउन सकेका छैनन्, कहिलेकाहीँ कुकुरको आँखा छलेर चरणक्षेत्रमा भने आक्रमण हुने गरेको छ, भेडीगोठको रक्षक भनेकै कुकुर हो”, उनले भने ।

Share on:

ताजा समाचार पढ्नुहोस