प्रचण्ड पक्षबाट नेतृत्वमा गएका नेता ओलीतिर लागेपछि…

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रोगेसिप इन्जिनियर एसोसिएसन नेपाल (पिन) पछिल्लो समय निकै विवादमा छ । अध्यक्ष र महासचिवले आफूखुसी विभिन्न कमिटीहरु गठन गरेकोदेखि लिएर विगत ९ महिनादेखि बैठक नबसालेको भन्दै सचिवालय सदस्य नेतृत्वप्रति आक्रोसित छन् ।

पिनमा विशेषगरी केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह छ । पार्टी एकता भएसँगै भातृ संगठन पिनको पनि एकता भएको थियो र ओली पक्षका शम्भुबहादुर श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय सचिवालय सदस्य गठन भएको थियो । जसमध्ये एक सदस्यले राजीनामा दिइसकेका छन् ।

हाल रहेको २० सदस्य सचिवालयमा प्रचण्ड र नेपाल पक्ष बहुमतमा छ । तर, प्रचण्ड पक्षबाट पिनको महासचिव बनेका डा. हरिराम पराजुली ओली पक्षसँग मिलेर निर्णयहरु गर्न थालेपछि पिनको विवाद चुलिँदै गएको छ । हरिरामलाई प्रचण्ड पक्षकै अन्य दुई सचिवालय सदस्य विजय विष्ट र रेवन्त रावतले साथ दिइरहेका छन् ।

प्रचण्ड पक्षका एक नेताले भने, ‘प्रचण्डले ओलीसँग राजनीतिक लडाइ जितिरहँदा प्रचण्डको नाम लिएर पिनको नेतृत्व हत्याएका नेताहरु ओली खेमासँग निकट भएर प्रचण्डलाई धोका दिनु कुनै पनि हालतमा जायज छैन ।’

प्रचण्ड पक्ष र नेपाल पक्षको बहुमत हुँदाहुँदै महासचिव अध्यक्षसँग मिलेर प्रदेश समिटी गठन गर्ने र आफू पक्षकै नेतालाई पेल्ने काममा लागेको प्रति ती नेताले असन्तुष्टी प्रकट गरे ।

पिनको वागमति प्रदेश र विश्वविद्यालय कमिटी गठनमा विवाद आएपछि सचिवालयमध्येका ११ सदस्यले समानान्तर समिटी गठन गरेका थिए । माधव नेपाल पक्षका एक नेताले भने, ‘प्रचण्ड र हाम्रो पक्षका अधिकांश नेता मिलेर जानुपर्छ भन्ने लाइनमा हुनुहुन्छ । तर, केपी ओलीले केन्द्रमा पेलेर गएको जसरी यहाँ पनि हामीलाई पेलेर निर्णयहरु गरिएको छ ।’

पिनका प्रचण्ड पक्षका केही नेता ओलीसँग मिलेर बालुवाटार र सिंहदरबारको डर देखाउँदै हिँडेको आरोपसमेत छ । साथै, इन्जिनियरहरुलाई आफ्नो पक्षमा उभिन प्रत्यक्ष भेटेर लबिङसमेत गरिरहेका छन् ।

प्रचण्ड पक्षका पिनका एक केन्द्रिय नेता भन्छन्, ‘हाम्रै साथीहरु मलाई भेट्न आउनुभएको थियो । बालुवाटारको पावर देखाएर ल आउनुस् अब ओली पक्षसँग मिलेर जाऊँ भनेर आग्रह गर्नुभयो । मलाई त अचम्म लाग्यो ।’

पार्टीमा प्रचण्डको कोटाबाट मन्त्री भएका केही र केही केन्द्रीय नेता ओली पक्षमा लागेको चर्चा चुलिइरहेको अवस्थामा पिनमा पनि यो अवस्था आएको धेरैको बुझाई छ ।

सचिवालय सदस्य विष्टले आफू गुटपरिवर्तन गरेर ओली समूहसँग लागेको आरोप अस्वीकार गरेका छन् । उनले दुई ठूला पार्टी (माओवादी) र (एमाले) मिलेर एक भएको पार्टीमा गरिएका सामूहिक निर्णयलाई गुटसँग जोड्न नमिल्ने दाबी गरेका छन् । उनले पिनमा देखिएका समस्याबारे अध्यक्ष र महासचिवसँग छुट्टाछुट्टै छलफल गरिएको र यसलाई गुटगत रुपमा हेर्न नमिल्ने बताएका छन् ।

Share on:

ताजा समाचार पढ्नुहोस