गुल्मीमा बन्द गरिएको बाणिज्य बैंक शाखा आइतबारदेखि खुल्ने

बुधबारदेखि बन्द रहेको राष्ट्रिय वाणिज्य बैंक, गुल्मी शाखाबाट आइतबारदेखि पुन: सेवा प्रवाह गरिने भएको छ। ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंक शाखा बन्द गरिएको छ।

बुधबार एक जना कर्मचारीमा संक्रमण देखा परेपछि १७ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार बिहान थप पाँच जनामा संक्रमण पुष्टि भएको हो। कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकका सबै सेवा बन्द गरिएको थियो। संक्रमण पुष्टि भएका कर्मचारीहरू अहिले होम आइसोलेसनमा बसेका छन्।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोना रिर्पोट नेगेटिभ आएका कर्मचारीहरूबाट सेवा दिने जानकारी दिए। बैंक बन्द गरेर बस्नु उचित नहुने भएकाले आइतबारबाट रिर्पोट नेगेटिभ आएका कर्मचारीहरूबाट सेवा दिने शर्माले बताए।

कोरोना पोजेटिभ देखिएका बैंकका कर्मचारीहरूको सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र लक्षण देखा परे तुरुन्त सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ।

गुल्मीमा कुल ७४३ जना संक्रमित मध्ये ६७८ जना निको भएर घर फर्किएका छन् भने नौ जना संक्रमितको ज्यान गएको छ।

Share on:

ताजा समाचार पढ्नुहोस